मुहान क्षेत्रको वाग्मती किनारबाट फोहरका ट्रक हटाउन माग

काठमाडौ : वाग्मती सफाइ महाअभियानले ३१० हप्ता नाघ्यो । मुहान क्षेत्रका दुई नगरपालिकाले अझै नदी किनारमै वर्गीकरणका नाममा फोहर थुपार्ने गरेका छन् । गुह्येश्वरीमाथिको नदी सफाइको २७१औँ हप्तामा गोठाटार पुलमुनिको नदी क्षेत्रस्थित गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाबीचको नदी किनार सफाइका क्रममा दुवै नगरपालिकाले फोहरका ट्रक राखेको भेटिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।

नदी किनारमा फोहरको वर्गीकरण गर्दै स्थानीयवासीको जनस्वास्थ्यमा धावा बोल्ने काम भइरहेका प्रति सफाइ अभियानकर्मीले दुवै नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १०० मिटरको क्षेत्रभित्र खुल्ला स्थानमा फोहर वर्गीकरण गरिँदा धेरै मानिसको स्वास्थ्यमा गम्भीर असर पुगेको छ ।

विमानस्थल नजिकै यसो गरिँदा अन्तर्राष्ट्रिय जगत्मा नेपालप्रति नकारात्मक सन्देश जाने अभियानकर्मीको भनाइ छ । पटक पटक अनुरोध गर्दा पनि फोहरका गाडी नदी किनारबाट नहटाइएका तर्फ स्थानीयवासीले नगरपालिकाप्रति आक्रोश पोखे ।

सफाइका क्रममा आज उपत्यकाको सभ्यताको स्रोत वाग्मती किनारमा फोहर राखेर वर्गीकरण गर्ने काम बन्द गर्न दुवै नगरपालिकालाई सार्वजनिक आह्वान गरियो । जनआह्वानको बेवास्ता गरेमा सम्बन्धित नगरपालिकाको प्राङ्गणमा लगेर फोहर विसर्जन गर्नेसम्मका अभियान चलाउन स्थानीयवासी बाध्य हुने चेतावनी दिइएको छ ।

मञ्चको आयोजनामा भएको सफाइ अभियानका क्रममा फोहरलाई स्रोतमै वर्गीकरण गर्दै नकुहिने फोहरलाई बाहिर निकालिएको थियो । मञ्चका तर्फबाट उमा फुयाँलले सफाइको संयोजन गर्नुभएको थियो । अभियानमा स्थानीयवासीको उल्लेख्य सहभागिता थियो ।

मञ्चले सञ्चालन गर्दै आएको नियमित वाग्मती तथा टोल, सडक र गल्ली सफाइ अभियानमा आफ्नै घरको फोहर व्यवस्थापन गर्न उदासीन जो कोहीलाई सहभागिता नजनाउन अनुरोध गरिएको जनाइएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार