काभ्रे : काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका वडा नं. १० लाई नमूना स्वस्थ समुदाय बनाउने भएको छ । १० नं. वडालाई स्वस्थ समुदाय बनाउन हालै वडा स्तरीय “खानेपानी, सरसफाइ र स्वच्छताको नमूना स्वस्थ समुदाय निर्माण” सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिसकेको छ ।
नमूना स्वस्थ समुदाय निर्माण कार्यक्रम २०७६ साल चैत्र १८ गते (एकबर्ष) सम्म सञ्चालन हुने फ्याफुल्ला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ । समितिले सेवा क्षेत्रको २ सय घरपरिवारलाई लक्षित गरी सरसफाइको ५ वटा सूचकहरुमा काम गर्नेछ । चर्पीको उचित प्रयोग, ब्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी, सुरक्षित र स्वच्छ खाना त्यसैगरी घर तथा आँगनको सरसफाइ सम्बन्धी सूचक पाँच सूचक भित्र पर्दछन् ।
कार्यक्रमले समुदायमा ५ वटा सूचक पूरा गर्न प्रत्येक टोल टोलमा टोल स्तरीय सरसफाइ समन्वय समिति गठन गरी विभिन्न तालिम तथा अभिमूखीकरण कार्यक्रम सञ्चालन गर्नेछ ।
नमूना स्वस्थ समुदाय निर्माण गर्न तत्पर छु : वडाध्यक्ष नेपाल
१० नंं. वडाका वडा अध्यक्ष बिष्णूमणी नेपालले नमूना स्वस्थ समुदाय निर्माण गर्नको लागि दातृ निकाय र साझेदारी संस्थाले मात्र प्रयास गरेर नमूना समाज निर्माण हुन नसक्ने बताउनुभयो । “खानेपानी, सरसफाइ र स्वच्छताको नमूना स्वस्थ समुदाय निर्माण” सम्बन्धी अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथी समेत रहेका वडाध्यक्ष नेपालले स्वस्थ समुदाय निर्माणका लागि स्थानीयबासिन्दा आफैले सरसफाइमा विशेष ध्यान दिई ब्यवहार परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले आफू स्थानीय तहको जनप्रतिनिधि भएको नाताले वडाबाट गर्न सक्ने विकास तथा नमूना स्वस्थ समुदाय निर्माण गर्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाले फ्याफुल्ला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आयोजना निर्माण गर्न सक्रिय भूमिका निर्वाह गरे झैं समुदायलाई लक्षित गरी सञ्चालन गरिने नमूना स्वस्थ समुदाय निर्माण गर्न पनि सक्रिय र उदाहरणीय काम गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले “मण्डन गाउँ, नमूना बनाऊ” भन्ने नाराका समुदाय सरसफाइको क्षेत्रमा नमूना समुदाय निर्माण गर्न समेत शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा वडाका दलित महिला सदस्य बाटे अछामी, वडा सदस्य राम बहादुर तामाङ र फ्याफुल्ला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कुमार तामाङ लगायत स्थानीय सरोकारवालाहरुको सहभागिता थियो ।
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को सहयो र शान्ति जनआदर्श सेवा केन्द्रको साझेदारीमा मण्डन देउपुर नगरपालिका वडा नं. १० एवं फ्याफुल्ला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको समन्वयमा मण्डन देउपुर नगरपालिकाको १० नं. वडालाई नमूना स्वस्थ समुदाय बनाउन लागिएको हो ।