फोहोर व्यवस्थापन गर्न चिनियाँ कम्पनीद्वारा ८ अर्ब लगानीको प्रस्ताव

काठमाडौ : फोहोरबाट बिजुली निकाल्ने परियोजनाका लागि एक चिनियाँ कम्पनीले ८ अर्बको लगानी प्रस्ताव दर्ता गरेको छ । चिनियाँ कम्पनी चाइना कोन्स भेन्चर होल्डिङ्स लिमिडेटले दैनिक ५ सय टन फोहोर व्यवस्थापन गरी १० मेगावाट बिजुली निकाल्ने प्रस्ताव लगानी बोर्डमा दर्ता गराएको हो ।

२ वर्षमा परियोजनाको काम सम्पन्न गर्ने गरी लगानी प्रस्ताव दर्ता गराइएको र बोर्डले स्वीकृति दिएमा छिट्टै नै काम सुरु गर्ने कम्पनीले जनाएको छ । कम्पनीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को आधारमा लगानी स्वीकृत हुने वा नहुने भन्ने विषय टुंगो लाग्ने लगानी बोर्डका प्रवक्ता बलराम रिजालले जानकारी दिनुभयो ।

यस कम्पनीले चीन, जापान, सिंगापुर, साउथ कोरिया, भियतनाम, इटाली लगायतका देशमा फोहोरबाट बिजुली निकाल्ने २२० वटा प्लान्ट सञ्चालन गरिरहेको छ ।

तत्कालका लागि बिराटनगर महानगरपालिका र आसपासको स्थानहरूबाट फोहोर संकलन गर्ने कम्पनीको योजना छ । १० मेगावाट बिजुली उत्पादन गर्न दैनिक ५०० टन फोहोर आवश्यक पर्ने र बिराटनगर महानगरपालिकाबाट मात्रै फोहोरको आपूर्ति नहुने भएपछि अन्य सहरहरूको फोहोर समेत संकलन गर्ने कम्पनीको योजना छ ।

कम्पनीका अनुसार बिराटनगर महानगरपालिका, दुहवी नगरपालिका, इनरुवा नगरपालिका, इटहरी उप–महानगरपालिका, सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, पथरी नगरपालिका, रंगेली नगरपालिका, कानेपोखरी गाउँपालिका, बूढीगंगा, ग्रामथान, कटहरी, जहडा र गढी गाउँपालिकाबाट पनि फोहोर संकलन गर्नेछ ।

यस कम्पनीले चीन, जापान, सिंगापुर, साउथ कोरिया, भियतनाम, इटाली लगायतका देशमा फोहोरबाट बिजुली निकाल्ने २२० वटा प्लान्ट सञ्चालन गरिरहेको छ । कम्पनीका अनुसार वार्षिक करिब १० खर्ब रुपैयाँ आम्दानी गर्दै आइरहेको छ । नेपालको फोहोर व्यवस्थापन गर्दै प्रदूषण हटाउने र ऊर्जाको आवश्यकता पूरा गर्न लगानीका लागि इच्छुक देखिएको कम्पनीले जनाएको छ ।

कम्पनीले गरेको लगानी प्रस्तावमा हाइड्रोपावरबाट उत्पादन हुने बिजुलीको दरभन्दा फोहोरबाट उत्पादन हुने बिजुलीको विद्युत महसुलमा सहुलियत दिनुपर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार