ललितपुर : ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रको फोहोरको व्यवस्थापनका लागि जनशक्ति र उपकरण थप गर्ने भएको छ । उपमहानगरपालिकाबाट महानगरपालिका बनेपछि साविकका पाँच गाविस थप भएका कारण जनशक्ति र उपकरण थप गर्न लागिएको हो । हाल कार्यरत जनशक्ति अपर्याप्त भएपछि २४ नयाँ कर्मचारी थप गर्न लागिएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो ।
उहाँका अनुसार फोहोर बोक्नका लागि महानगरपालिकाले आठ वटा नयाँ गाड र बु्रमर किन्ने योजना बनाएको छ । नगर क्षेत्रमा बढ्दो जनसङ्ख्यासँगै फोहोर उत्पादन पनि बढिरहेको र यसैको व्यवस्थापनका लागि ती जनशक्ति र गाडीले काम गर्ने प्रवक्ता महर्जनले बताउनुभयो ।
उहाँले सबैभन्दा बढी लगनखेल, जावलाखेल, पुल्चोक, कुपण्डोल लगायत क्षेत्रमा फोहोरको समस्या बढी रहेको बताउनुभयो । त्यसबाहेक धापाखेल, सुनाकोठी, खोकना, बुङ्गमती लगायत स्थानमा पनि फोहोर बढिरहेको छ ।