सगरमाथाको ४ हजार किलो फोहोर काठमाडौ ल्याइयो

काठमाडौ : सगरमाथाको सफाइबाट संकलित करिब ४ हजार किलो फोहोर काठमाडौ ल्याइएको छ । खुम्बु पासाङ ल्हामू गाउँपालिकाको नेतृत्वमा वैशाख १ गतेदेखि लुक्लाबाट सुरु भएको सफाइ अभियानबाट ४ हजार किलो फोहोर संकलन गरेर काठमाडौ ल्याइएको हो ।

काठमाडौ ल्याइएको फोहोर मध्ये १ हजार किलो फोहोर ब्लू वेष्ट टु भ्यालु संस्थालाई व्यवस्थापनका लागि दिइएको छ भने ३ हजार किलो फोहोर त्रिभुवन विमानस्थलमा रहेको नेपाली सेनाको १४ नम्बर वाहिनीमा राखिएको छ ।

अहिले क्याम्प १ र २ बाट २ हजार किलो र बेसक्याम्प वरपरबाट १९ सय किलो फोहोर संकलन गरिएको छ । यस्तै क्याम्प ४ र साउथकोलबाट ४११ किलो फोहोर संकलन गरिएको छ । यस्तै गोरक्सेप क्षेत्रबाट संकलन भएको १ हजार २३० किलो फोहोर कालापत्थरमा राखिएको छ ।

सफाइ टोलीले अहिले सगरमाथा बेसक्याम्प, क्याम्प १, क्याम्प २, क्याम्प ३ र क्याम्प ४ हुँदै साउथकोलमा सफाइ गरिहेको छ । अभियान अन्तर्गत बेस क्याम्प वरपरबाट ५ हजार, साउथ पोलबाट २ हजार र क्याम्प २ र ३ बाट ३ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य राखिएको छ ।

संकलन भएको फोहोर सगरमाथा दिवसको दिन जेठ १३ गते नाम्चे र काठमाडौमा प्रदर्शनीमा राखिनेछ ।

सगरमाथा सफाइका लागि कसले कति दिए ?

सगरमाथा सफाइको लागि २ करोड ३२ लाख १६ हजार रुपैयाँ खर्च हुने अनुमान छ । संकलनका लागि पर्यटन मन्त्रालयले ३ लाख, वन मन्त्रालयले ५० लाख, प्रदेश १ को पर्यटन मन्त्रालयले २५ लाख रुपैयाँ दिएका छन् ।

यस्तै खुम्बु पासाङ ल्हामू गाउँपालिकाले ३० लाख, पर्यटन बोर्डले ३० लाख, भिजिट नेपाल २०२० ले २० लाख, नेपाल पर्वतारोहण संघले २० लाख, कोकाकोलाले ४० लाख, बोटलर्स नेपालले १० लाख, डब्ल्यू डब्ल्यू एफबाट २० लाख, प्रभु बैंकले १० लाख, एनसीसी बैंकले १० लाख र नबिल बैंकले ५ लाख रुपैयाँ सहयोग गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार