धुलिखेलमा दिसाजन्य लेदो व्यवस्थापन तालिम

 

काभ्रे : धुलिखेलमा दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सुरु भएको छ । नगरपालिकाहरुमा दिसाजन्य लेदो व्यवस्थापनको आवश्यकता र यस सम्बन्धी ज्ञान र क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

तालिममा काभ्रेको धुलिखेल, पनौती, नमोबुद्ध, मन्डनदेउपुर र पाँचखाल नगरपालिकाको सहभागिता रहेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका, रामेछापको रामेछाप नगरपालिका, दोलखाको भीमेश्वर नगरपालिका र नुवाकोटको बेलकोटगढी नगरपालिका गरी ९ वटा नगरपालिकाबाट १८ जनाको सहभागिता रहेको एन्फोकी सिनियर अफिसर सिर्जना कार्कीले जानकारी दिनुभयो ।

ती नगरपालिकाबाट वडा अध्यक्ष, वातावरण शाखाका प्रमुख, इञ्जिनियर, सव इन्जिनियर, योजना अधिकृत, शाखा अधिकृत, प्रशासन अधिकृत र स्वास्थ्य संयोजक सहभागी भएका छन् ।

दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी तालिमको उदघाटन सत्रमा बोल्दै नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधी देवकोटाले आ – आफ्ना नगरपालिकालाई दिसाजन्य लेदो व्यवस्थापनको आवश्यकताबारे महसुस गराउनुपर्ने र नगरपालिकाहरुले यस सम्बन्धी बार्षिक कार्यक्रममा समावेश गर्नुपर्ने बताउनुभयो ।

यस्तै एन्फोका कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठले दिसाजन्य लेदो व्यवस्थापनको बिषय नगरपालिकाहरुका लागि गम्भीर बिषय भएकाले यसलाई सबै नगरपालिकाले गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो । उहाँले तत्काल दिसाजन्य लेदो व्यवस्थापनका लागि नगरपालिकाहरुले योजना बनाउन सुरु गर्नुपर्ने बताउनुभयो ।

नेपालका पाँच नगरपालिकाहरु धुलिखेल, भीमदत्त, लमही, लहान र वालिङमा United Cities and Local Government Asia Pacific (UCLG ASPAC) को सहयोगमा दक्षिण एसियाली नगरपालिका सञ्जालहरुमा सरसफाइ पैरवी परियोजना सञ्चालन भईरहेको छ । जसमा वातावरण र जनस्वास्थ्य संस्था एन्फोले प्राविधिक सहयोग गरिरहेको छ भने यसको कार्यान्वयन नेपाल नगरपालिका संघले गरिरहेको छ ।

तालिम भोलिसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार