काठमाडौ : -याफ्टिङका लागि सुप्रसिद्ध भोटेकोशी क्षेत्र सरसफाइका लागि स्थानीय पर्यटन व्यवसायी जागरुक भएका छन् ।
अव्यवस्थित बजारका कारण फोहोर तथा ढल समेत नदीमै मिसाएपछि सरसफा अभियान चलाइएको हो । -याफ्टिङका लागि प्रसिद्ध खाडीचौर देखि सुकुटेसम्मको नदी क्षेत्रलाई फोहोरमुक्त बनाउन हरेक हप्ता अभियान सुरु गरिएको सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
नदी किनारमा फालिएका र नजल्ने फोहोरका कारण -याफ्टिङका लागि पुगेका पर्यटकलाई समेत असर पुगेको र वातावरण प्रदुषित बन्दै गएएकाले भोटेकोसी सफाइमा व्यवसायी आफै अग्रसर बनेका श्रेष्ठले बताउनुभयो ।
पर्यटन व्यवसायीको अग्रसरतामा शसस्त्र प्रहरी, नेपाल प्रहरी तथा न्यु सदाबहार युवा क्लवले समेत बजार तथा नदी सफा अभियानमा सक्रियता देखाएको हो । भोटेकोशीको किनारमा रहेका खाडीचौर, बलेफी तथा सुकुटे क्षेत्रमा सफा अभियान जारी राख्ने सिन्धु पर्यटन व्यवसायी संघले जनाएको छ ।
भोटेकोशी जल यात्रामा राजधानी देखि हरेक हप्ता ५ हजार भन्दा बढी पर्यटक पुग्ने गरेपनि नदी क्षेत्रको सफाइमा भने अहिलेसम्म कसैले चासो देखाएको थिएन । अध्यक्ष श्रेष्ठले भन्नुभयो. ‘अहिलेसम्म सफाइमा कसैले चासो देखाएनन्, अहिले हामी आफैँ पर्यटन व्यवसायीहरु एकजुट बनेका छौँ अब हरेक हप्ताको बिहीबार सरसफाइको बार तोकेका छौं, भोटेकोशीलाई हामी सुन्दर बनाएरै छाड्छौँ ।’ सरसफाइ अभियान अहिले चौथो हप्तामा प्रवेश गरेको छ ।