अवलोकन भ्रमणपछि फोहोर व्यवस्थापनका लागि तातियो नगरपालिका

दार्चुला : दार्चुलाको महाकाली नगरपालिकाले धनकुटाको धनकुटा नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिकाको सरसफाइ व्यवस्थापनको अवलोकनपछि सरसफाइ केन्द्र निर्माणको काम थालनी गरेको छ ।

अवलोकन भ्रमण गरेको झण्डै छ महीनापछि नगरपालिकाले जिल्लामा सरसफाइ केन्द्र निर्माणको काम थालनी गरेको हो । गत मङ्सिरमा सरसफाइमा देशकै अब्बल ठहरिएका दुई नगरपालिकाको अवलोकन भ्रमण गरेको थियो । नगरपालिकाको वडा नं ५ किम्तडीको खेट्टाबगडमा सरसफाइ केन्द्र निर्माणको काम शुरु गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरी ठेक्का मार्फत निर्माण कार्य अघि बढाइएको नगरपालिकाका प्रवक्ता पुष्करराज जोशीले जानकारी दिनुभयो । रु एक करोड बढी लागतमा निर्माण कार्य थालनी गरिएको छ ।

विगत लामो समयदेखि फोहर व्यवस्थापन हुन नसकेको भन्दै आलोचित बनेको नगरपालिकाले सरसफाइ व्यवस्थापनको अवलोकन गरेपछि नयाँ मोडेलमा काम अघि बढाएको नगरपालिकाको दाबी छ । नगरपालिकाले सरसफाइ केन्द्रमा कुहिने फोहर र नकुहिने फोहोर छुट्टाछुट्टै रुपमा राख्ने छ । पहिलो चरणमा पाँच–छ वटा खाल्डो निर्माण गरिँदैछ । गुरुयोजना अनुसार सरसफाइ केन्द्रका लागि १२ वटा खाल्डो आवश्यक पर्छ ।

कुहिने फोहरलाई दुई वर्षसम्म खाल्डोमा राखिने छ । कुहिएको फोहरबाट बनेको मल बिक्री गर्ने उद्देश्य राखिएको छ । यस्तै नकुहिने फोहरलाई पनि प्रशोधन गरेर बिक्री गर्ने तयारी रहेको जोशीले बताउनुभयो । “विगतमा धेरैले फोहर राख्ने ठाउँलाई डम्पिङ साइड भन्ने गर्थे । अब डम्पिङ साइड हैन सरसफाइ केन्द्र बनाउदैछौँ”, जोशीले भन्नुभयो, “त्यहाँ पार्क निर्माण हुनेछ, चारैतिर वृक्षरोपण गरिनेछ र पिकनिक खाने पर्यटकीय क्षेत्रको रुपमा सरसफाइ केन्द्रको रुपमा विकास गरिन्छ ।”

अवलोकनमा नगरपालिकाका प्रमुख हंशराज भट्ट नेतृत्वमा वडाध्यक्ष, खेट्टाबगडमा पाँच जना स्थानीय लगायतलाई भ्रमण गराएपछि यो कामले गति लिएको हो । अहिले निर्माणको काम नमस्कार निर्माण तथा ढुवानी सेवाले पाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार