काठमाडौ : गोदावरी खोला साप्ताहिक सरसफाइ अभियान मानव साङ्लो निर्माण गर्ने अन्तिम तयारीमा जुटेको छ । राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा मानव साङ्लो निर्माण गरी सरसफाइ प्रति ऐक्यबद्धता जुटाउने उद्देश्यले गोदावरी खोला सरसफाइ अभियानले मानव साङ्लो निर्माण गर्न लागेको हो ।
यसको तयारी स्वरुप गोदावरी कुण्डदेखि बालकुमारी पुलसम्म तीन दिन प्लेकार्ड सहित पदयात्रा एवं अनुगमनको काम समेत सम्पन्न भएको सरसफाइ अभियन्ता धिरेन्द्र शाहले जानकारी दिनुभयो ।
‘सरसफाइका लागि मानव साङ्लो’ नाम दिइएको कार्यक्रममा गोदावरी खोलाको मुहान देखि हनुमन्ते खोलासम्मको १७ किलोमिटर क्षेत्रमा मानव साङ्लो निर्माण गरिनेछ । मानव साङ्लो निर्माण पछि गोदावरी थैब चोकदेखि गोदावरी खोला किनारमा खुस्बु कोलनीमा खानेपानीमन्त्री र सहरी विकास मन्त्री लगायत विभिन्न सरसफाइ अभियन्ताको उपस्थितिमा विशेष सरसफाइ सभा आयोजना हुने गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियानले जनाएको छ ।
विश्व वातावरण दिवस एवं राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा गोदावरी देखि बालकुमारीसम्म मानवसाङ्लो निर्माण गरी खोला सरसफाइ गर्ने राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले गत जेठ १६ गते निर्णय गरेको थियो ।
गोदावरी खोला साप्ताहिक सरसफाइ अभियानले मानव साङ्लो निर्माण कार्यमा जुट्न सबैलाई आग्रह गरेको छ । अभियान बिहान १० बजेदेखि ११ बजेसम्म गोदावरी कुण्डदेखि टिकाथली हनुमन्ते दोभानसम्म निर्माण गरिने सरसफाइ अभियन्ता धिरेन्द्र शाहले जानकारी दिनुभयो ।
ट्याङ्कर मार्फत काठमाडौमा आपूर्ति भईरहेको पानीको मुहान गोदावरी क्षेत्र भएकाले स्रोत नै सफा र सुरक्षित नभएसम्म खानेपानी प्रदुषण हुने अवस्थालाई मध्यनजर गर्दै गोदावरी खोला क्षेत्र सरसफाइ अभियान सञ्चालन भईरहेको छ । राष्ट्रिय सरसफाइ सप्ताह एवं विश्व वातावरण दिवसको उपलक्ष्यमा मानव साङ्लो बनाई खोला पवित्र बनाउने अभियानमा जुट्नका लागि आव्हान गर्न कार्यक्रम आयोजना गरिएको अभियानकी संयोजक बेबी राजभण्डारी थापाले जानकारी दिनुभयो ।
सरसफाइ अभियन्ता धिरेन्द्र शाहको प्रेरणा र वाग्मती सरसफाइ अभियन्ता चित्र कुमार सुनुवारको सक्रियतामा २०७५ फागुन २७ देखि सुरु भएको अभियानले १३ औं हप्ता पार गरिसकेको छ । अहिलेसम्म ५० मेट्रिक टन फोहोर व्यवस्थापन भईसकेको छ ।
धार्मिक एवं पर्यटकीय स्थलको रुपमा परिचित गोदावरी खोला क्षेत्रमा पिउन योग्य पानी बगाउने अभियानको मुख्य लक्ष्य रहेको गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियानले जनाएको छ ।