आज विश्व वातावरण दिवस, आजबाटै सरसफाइ सप्ताह सुरु, विभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौ : आज जुन ५ अर्थात विश्व वातावरण दिवस । ‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । वातावरण दिवसकै अवसरमा खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा हनुमन्ते नदी सफाई अभियानको ६६ औं हप्ताको कार्यक्रम हुँदैछ ।

भक्तपुरका प्रतिनिधी सभा सदस्य महेश बस्नेतको विशेष आतिथ्यमा हुन लागेको कार्यक्रममा सूर्य विनायक चोकदेखि गणेश मन्दिरसम्मको सरसफाइ, बृक्षारोपण तथा पार्क शिलान्यास कार्यक्रम समेत समावेश गरिएको छ ।

विश्व वातावरण दिवसकै अवसरमा गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले मानव साङ्लो बनाउँदैछ । गोदावरी खोला साप्ताहिक सरसफाइ अभियानले मानव साङ्लो निर्माण कार्यमा जुट्न सबैलाई आग्रह गरेको छ । अभियान बिहान १० बजेदेखि ११ बजेसम्म गोदावरी कुण्डदेखि टिकाथली हनुमन्ते दोभानसम्म निर्माण गरिने सरसफाइ अभियन्ता धिरेन्द्र शाहले जानकारी दिनुभयो ।

ट्याङ्कर मार्फत काठमाडौमा आपूर्ति भईरहेको पानीको मुहान गोदावरी क्षेत्र भएकाले स्रोत नै सफा र सुरक्षित नभएसम्म खानेपानी प्रदुषण हुने अवस्थालाई मध्यनजर गर्दै गोदावरी खोला क्षेत्र सरसफाइ अभियान सञ्चालन भईरहेको छ ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यले सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।

सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि जुन ५ जुन तारिखलाई विश्व वातावरण दिवसका रुपमा बर्सेनी मनाउन थालिएको हो ।

आजैदेखि राष्ट्रिय सरसफाइ सप्ताह सुरु भएको छ । खानेपानी मन्त्री बिना मगरले खानेपानी तथा ढल व्यवस्थापन विभागको हलमा बिहान १० बजे सरसफाइ सप्ताहको शुभारम्भ तथा बृक्षारोपण गर्ने कार्यक्रम रहेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र झाले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार