सरसफाइका लागि मानव साङ्लो बनाउन कोमल वली देखि करिश्मा सम्म सहभागी

 

ललितपुर : विश्व वातावरण दिवस तथा सरसफाइ सप्ताहको अवसरमा गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियानले मानव साङ्लो बनाएको छ । ६ हजार १७५ जना भेला भई गोदावरी खोलाको कुण्ड देखि टिकाथली हनुमन्ते दोभानसम्म १४ स्थानमा पर्ने पुलको दायाँ बायाँ मानव साङ्लो निर्माण गरिएको हो ।

सरसफाइका लागि मानव साङ्लो निर्माण गर्न चर्चित गायिका एवं राष्ट्रिय सभा सदस्य कोमल वली, अभिनेत्री करिश्मा मानन्धर, राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र कुमार झा, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र सूर्यविनायक नगरपालिकाका मेयर तथा जनप्रतिनिधी गोदावरी खोला पुग्नुभएको थियो ।

कार्यक्रममा अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत बिकास समितिका अध्यक्ष नरेन्द्र राज बस्नेत,  बाग्मती, बिष्णुमतीे, रुद्रमती, मनोहरा र हनुमन्ते नदी सरसफाइ अभियन्ताहरु, नेपाल रेडक्रस ललितपुर, महिला स्वस्थ्य स्वयंसेबिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ग्रिनसिटी हस्पिटल, ब्लुक्रस हस्पिटल र क्यान्सर हस्पिटलका पदाधिकारीको सहभागिता थियो ।

विश्व वातावरण दिवस तथा सरसफाइ सप्ताहको अवसरमा मानव साङ्लो बनाउने गोदावरी खोला सरसफाइ अभियानको उद्देश्य पूरा गर्न सफल भएको अभियानकी संयोजक बेबी राजभण्डारी थापाले जानकारी दिनुभयो ।

सरसफाइ अभियन्ता धिरेन्द्र शाहको प्रेरणा र वाग्मती सरसफाइ अभियन्ता चित्र कुमार सुनुवारको सक्रियतामा २०७५ फागुन २७ देखि सुरु भएको अभियानले १३ औं हप्ता पार गरिसकेको छ । अहिलेसम्म ५० मेट्रिक टन फोहोर व्यवस्थापन भईसकेको छ ।

धार्मिक एवं पर्यटकीय स्थलको रुपमा परिचित गोदावरी खोला क्षेत्रमा पिउन योग्य पानी बगाउने अभियानको मुख्य लक्ष्य रहेको गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियानले जनाएको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार