सरकार आफनो प्रतिबद्धताबाट पछि हट्यो, आगामी वर्ष खुला दिशामुक्त राष्ट्र : खानेपानीमन्त्री

 

काठमाडौ : सरकार आफैले लिएको लक्ष्य तथा प्रतिबद्धताबाट पछि हटेको छ । चालु आर्थिक बर्षभित्रै राष्ट्रलाई खुला दिसामुक्त घोषणा गर्ने सरकारको लक्ष्य विपरीत खानेपानीमन्त्री बिना मगरले आउँदो आर्थिक बर्षमा मात्र राष्ट्रलाई खुला दिसामुक्त घोषणा गर्ने बताउनुभयो । राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा काठमाडौको बसन्तपुरमा आयोजित ‘वास मेला’ को उदघाटन कार्यक्रममा उहाँले आउँदो आर्थिक वर्षमा खुला दिशामुक्त राष्ट्र घोषणा गर्ने अभियानमा मन्त्रालय जुटेको बताउनुभयो ।

मन्त्री  मगरले हरेक गाउँ बस्ती र सहर बजारका जनतालाई तीन वर्षभित्र शत प्रतिशत आधारभूत स्तरको खानेपानी सेवा पु-याउन मन्त्रालय संकल्प सहित अघि बढेको बताउनु भएको छ  ।मन्त्री मगरले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर शत प्रतिशत जनतालाई आधारभूतस्तरको खानेपानीको सुनिश्चितता गर्न दृढ संकल्पका साथ अघि बढेको बताउनुभएको हो ।

उहाँले सबै जनतालाई खानेपानीको पहुँच पु-याउने अभियानमा केन्द्र, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रतिबद्धता र हातेमालोको आवश्यकता रहेको औंल्याउनुभयो । आगामी आर्थिक वर्ष ९२ प्रतिशत र तीन वर्ष भित्र शत प्रतिशत जनसंख्यालाई खानेपानी सेवा पु-याउने लक्ष्य रहेपनि सबैसँगको सहकार्यमा उक्त लक्ष्य पुरा गर्न सकिने उहाँको भनाई छ ।

कार्यक्रममा खानेपानी मन्त्री मगरले भन्नुभयो, ‘ एकातिर सबै जनतालाई खानेपानी पु-याउनुपर्ने चुनौति छ भने अर्कोतिर पूर्ण सरसफाईको कार्यक्रमलाई पनि संगै अगाडि लैजानुपर्नेछ । खानेपानी र सरसफाइलाई अलग राखेर समृद्ध नेपालको अभियान पुरा हुन सक्दैन । बढ्दो जनसंख्या र सहरीकरणका कारण हाम्रो वातावरण दिनदिनै दूषित हुँदै गईरहेको छ । सरसफाई अभियानलाई पनि हामीले उत्तिकै प्राथमिकता दिएर अगाडि बढाउँदै छौं ।’

कार्यक्रममा नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले खानेपानी र सरसफाईका कार्यक्रम तथा योजनाहरुलाई बढी प्राथमिकता दिएर अघि बढ्न नेपाल सरकारलाई आग्रह गर्नुभयो । नगर प्रमुख श्रेष्ठले कुनै पनि नगरपालिका र गाउँपालिकाले प्रशोधित स्वच्छ खानेपानी पिउन नपाएको र कुनैपनि स्थानीय निकाय सफा नभएको गुनासो गर्नुभयो ।

खानेपानीका आयोजनाहरु सञ्चालन गर्न र फोहोर व्यवस्थापनमा नेपाल सरकारसँग सहकार्य गरेर अघि बढ्न सबै नगरपालिकाहरु तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार