दिसाजन्य लेदो व्यवस्थापन : कसरी गर्ने ? के भन्छन् विज्ञ ? (भिडियो अन्तरक्रिया)

काठमाडौ : काठमाडौको वसन्तपुरमा वास मेला चलिरहेको थियो । मेलामा वास क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधि, सीप र उत्पादन प्रदर्शन गरिएको थियो । विश्व वातावरण दिवस, सरसफाइ सप्ताह तथा सिथी नखः पर्वको सन्दर्भ पारेर आयोजित वास मेलाको अर्को महत्वपूर्ण पक्ष थियो, सरसफाइ र स्वच्छता सम्बन्धी विज्ञसँग छलफल तथा अन्तरक्रिया ।

पूर्व सचिव सुमन प्रसाद शर्माले सरसफाइमा १ रुपैयाँ लगानी गर्दा ९ रुपैयाँ फाइदा हुने तथ्य प्रमाणित भईसकेकाले सरसफाइमा लगानी गर्न हिच्किचाउन नहुने बताउनुभयो ।

छलफल तथा अन्तरक्रियाका बिषयहरु मध्ये दिसाजन्य लेदो व्यवस्थापनको आवश्यकता, प्रक्रिया र यसका लागि सरकारले गरिरहेको प्रयास लगायतको बिषयमा खानेपानी तथा सरसफाइ विज्ञ सञ्जय अधिकारी, नेपाल सरकारका पूर्व सचिव सुमन प्रसाद शर्मा र काठमाडौ उपत्यका खानेपानी लिमिटेड/पिआईडीका प्रोजेक्ट म्यानेजर सुरत बम बीच छलफल गरिएको थियो ।

छलफलको सहजीकरण वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक बिपिन डंगोलले गर्नुभएको थियो । छलफलका क्रममा खानेपानी तथा सरसफाइ विज्ञ सञ्जय अधिकारीले चर्पी बनाएर मात्र सरसफाइको समस्या समाधान नहुने भएकाले चर्पीको सेफ्टी ट्यांकमा थुपारिएको दिसाजन्य लेदोको सही व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो ।

यस्तै पूर्व सचिव सुमन प्रसाद शर्माले सरसफाइमा १ रुपैयाँ लगानी गर्दा ९ रुपैयाँ फाइदा हुने तथ्य प्रमाणित भईसकेकाले सरसफाइमा लगानी गर्न हिच्किचाउन नहुने बताउनुभयो । सरकारले पनि खानेपानी र सरसफाइमा लगानी बृद्धि गर्दै गएको उल्लेख गर्दै उहाँले लगानी र व्यापार छुट्याउन सक्नुपर्ने बताउनुभयो ।

कुनै पनि क्षेत्रमा लामो समयसम्म खर्च गरेर भविश्यमा प्राप्त गर्न सकिने प्रतिफललाई लगानीका रुपमा हेर्नुपर्ने र खर्च गर्न साथ छोटो अवधिमै प्रतिफल प्राप्त हुने क्षेत्रलाई व्यापारको रुपमा हेर्नुपर्ने उहाँले बताउनुभयो ।

यस्तै काठमाडौ उपत्यका खानेपानी लिमिटेड/पिआईडीका प्रोजेक्ट म्यानेजर सुरत बमले दिसा मिसिएको पानी (कालो पानी) प्रशोधन नगरी वातावरणमा पठाउन नमिल्ने भन्दै यसका लागि काठमाडौ उपत्यकाका विभिन्न स्थानमा फोहोर पानी प्रशोधन केन्द्रहरु निर्माणको क्रममा रहेको जानकारी दिनुभयो । उहाँले गुहेश्वरीमा निर्माण भईरहेको प्रशोधन केन्द्र चाँडै प्रयोगमा आउने र फोहोर पानी प्रशोधन गरेर मात्र बिसर्जन गरिने बताउनुभयो ।

उहाँले अहिले ढल मार्फत उपत्यकाका नदीहरुमा भईरहेको प्रदुषणलाई हटाई आगामी सन् २०३० भित्र काठमाडौ उपत्यकाका नदीहरुलाई पुरानै स्वरुपमा फर्काउने गरी सरकारले काम गरिरहेको दाबी गर्नुभयो ।

खानेपानी तथा सरसफाइ विज्ञ सञ्जय अधिकारी, नेपाल सरकारका पूर्व सचिव सुमन प्रसाद शर्मा र काठमाडौ उपत्यका खानेपानी लिमिटेड/पिआईडीका प्रोजेक्ट म्यानेजर सुरत बम बीच गरिएको छलफल हेर्नलाई तलको लिङ्क क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार