स्यानिटरी प्याड बनाउन जान्दा….

 

अछाम : कमलबजार नगरपालिकाका महिला र किशोरी आफैँ प्याड बनाउन सिपालु भएका छन् । स्यानिटरी प्याड बनाउने तालिम लिएपछि आफ्ना लागि आफैँले बनाउन प्याड बनाउन थालेको दिला अधिकारीले बताउनुभयो । आफैँले प्याड बनाउन थालेपछि किशोरीहरूको पढाइमा पनि सहयोग पुगेको घोडासैनकी शारदा खड्काले बताउनुभयो ।

पहिलो चरणमा तालिम लिएका २६ जना गृहिणी महिला र जाल्पादेवी माध्यमिक विद्यालयका कक्षा ७, ८, ९ र १० मा पढ्ने किशोरीले प्याड बनाउन थालेका हुन् ।

तालिममा सहभागी सबै महिला तथा किशोरी स्यानिटरी प्याड र प्याड होल्डर आफैँ बनाउन सक्ने भएका छन् । ‘विनाखर्च तालिम लिन पाउदा निकै खुसी लाग्यो,’ कमलबजारकी कौसी विष्टले भन्नुभयो ‘अब त प्याड बनाउन कुनै समस्या छैन ।’

प्याड एकपटक प्रयोग गरिसकेपछि सफासँग धोएर पुनः प्रयोग गर्न मिल्ने वातावरण मैत्री भएको कनेक्सन नेपालका अध्यक्ष सुशीलकुमार कार्कीले बताउनुभयो । तालिममा महिनावारी व्यवस्थापनका लागि आवश्यक पर्ने रुमाल, प्याड होल्डर, पेन्टी, प्लास्टिक जिप्पर ब्याग, साबुन र महिनावारी व्यवस्थापन सामग्री राख्ने झोलाका बारेमा समेत जानकारी गराउँदै आएको छ ।

कमलबजार नगरपालिकासँगको समन्वयमा कनेक्सन नेपाल र रोटरी क्लबले घरेलु प्याड बनाउने तालिम निःशुल्क उपलब्ध गराएको हो । प्याड बनाउन प्रयोग हुने फलाटिन कपडा सहितका अन्य औजारको व्यवस्थापन समेत कनेक्सन नेपाल र रोटरी क्लब अफ काठमाडौले नै गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार