खजुरालाई हरित सहर बनाउन अन्तराष्ट्रियस्तरमा सम्झौता

हरित कृषि र हरित सहरीकरणका लागि सञ्चालन हुने पाइलट प्रोजेक्ट सन् २०२० देखि सुरु हुने बताइएको छ । गाउँपालिका प्रमुख कक्षपतिले प्रोजेक्टको लागत यसको मोडालिटी लगायतका विषयमा पनि छलफल गरेर टुंगो लगाइने बताउनुभयो ।

बाँके : बाँकेको खजुरा गाउँपालिकालाई हरित सहरका रूपमा विकास गरिने भएको छ । कृषि र सहरलाई हरित बनाउन ‘ग्रीन खजुरा’ पाइलट प्रोजेक्ट सञ्चालनका लागि गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति र युएन प्रमुख बीच हस्ताक्षर भएको छ ।

उज्वेकिस्तानमा सञ्चालन भइरहेको ग्रीन इकोनोमी कार्यक्रममा सहभागी हुन उज्वेकिस्तान पुगेको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति र युएन प्रमुख बीच मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

खजुरा गाउँपालिकाले संयुक्त राष्ट्र संघ अन्तर्गतको चाइना इन्स्टिच्युट फर साउथ को–अपरेसन इन एग्रिकल्चरमा गत बर्ष प्रस्तावना पत्र पेश गरेको थियो । उक्त प्रस्तावना उत्कृष्ट भएसँगै खजुरा गाउँपालिकाले उज्वेकिस्तानमा सञ्चालन भइरहेको ग्रीन इकोनोमी कार्यक्रममा भाग लिने अवसर पाएको हो ।

हरित कृषि र हरित सहरीकरणका लागि सञ्चालन हुने पाइलट प्रोजेक्ट सन् २०२० देखि सुरु हुने बताइएको छ । गाउँपालिका प्रमुख कक्षपतिले प्रोजेक्टको लागत यसको मोडालिटी लगायतका विषयमा पनि छलफल गरेर टुंगो लगाइने बताउनुभयो ।

कार्यक्रम सञ्चालनका लागि २ अर्बसम्म लगानी लाग्ने अनुमान गरिए पनि त्यसको विस्तृत विवरण तयार हुन सकेको छैन । गाउँपालिकाले कृषि सहकारी मार्फत कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । दिगो विकास लक्ष्य पु(याउन खजुरामा हुने पाइलट प्रोजेक्टले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको विज्ञ सदस्य पूर्णचन्द्र उपाध्यायले बताउनुभयो ।

प्राविधिक प्रमुख कञ्चन तिवारीले हरित कृषि र सहरीकरण प्रोजेक्ट लागू भएपछि खजुरा संसारभरिकै रिसर्च सेन्टरका रूपमा विकास हुनुका साथै कृषिका विषयमा अनुभव साटासाट, खजुरा कृषि क्याम्पसको सपना पूरा हुने बताउनुभयो । कार्यक्रम लागू भएपछि खजुराको वातावरण स्वच्छता हुनुका साथै आधुनिक कृषि प्रणाली लागू भएर कृषि उपजको उत्पादकत्वमा वृद्धि भएर स्थानीयको जीवनस्तरमा परिवर्तन आउने अपेक्षा गरिएको छ ।

पाइलट प्रोजेक्ट सञ्चालनपछि दक्ष कृषि प्राविधिकको उत्पादन हुनुका साथै त्यसका लागि यहाँका कृषकलाई प्रशिक्षणका लागि चीन पठाउने अवसर प्राप्त हुनेछ भने कृषिका साथ साथै त्यसका लागि सडक, बिजुली लगायतका पूर्वाधार निर्माणका काम समेत हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार