ट्याङ्की माथि सांसदलाई खानेपानीको ब्रिफिङ

काभ्रेपलाञ्चोक : केही दिन अघि काठमाडौबाट काभ्रेको तेमालका लागि एक बिहानै हुँईकियो लहरका लहर गाडी । सांसदको गाडी, ठेकेदारको गाडी, जिल्ला समन्वय समितिको आफ्नै गाडी, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको छुट्टै गाडी ।

गाडीमा सवार हुनुहुन्थ्यो काभ्रेका संघीय सांसद गंगाबहादुर दोङ (बमध्वज), तेमाल बृहत लिफ्टिङ खानेपानी आयोजनाका अध्यक्ष संग्राम जीत लामा, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख नन्दलाल बन्जाडे, उपप्रमुख मोहनलाल जैसी, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, कालिका – वसन्तचन्द कन्स्ट्रक्सनका प्रमुख वसन्त चन्द र पत्रकारहरु सारा खबरका सञ्चालक मिलन कुमार लामा, वास खबरका प्रबन्ध निर्देशक पी.टी.लोप्चन, तेमाल अनलाइनका प्रधान सम्पादक डिलबहादुर थोकर ‘ग्याम्जो’ र सिआइएनका पत्रकार राजन रुचाल ।

उद्देश्य थियो, काभ्रेको तेमालमा सञ्चालित तेमाल बृहत (सुख्खाक्षेत्र) पम्पिङ खानेपानी आयोजनाको अनुगमन गर्ने । पशुपतिको जात्रा सिद्राको व्यापार भन्ने उखान जस्तै अरुका लागि खानेपानी अनुगमनको मात्र काम भएपनि सांसद बमध्वजका लागि अनुगमन सँगै कार्यकर्ता भेटघाट, जनतासँग सामान्य अन्तरक्रियाको काम समेत हुन्थ्यो । त्यसैले सँगै छुटेका गाडी पुगिसकेको केही समयपछि मात्र उहाँको गाडी आईपुग्थ्यो ।

आयोजना प्रमुख नन्दलाल बन्जाडे र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष संग्रामजीत लामा अघि —अघि लाग्नुभयो । उहाँहरु दुवैको चाहना थियो, सबै खानेपानी ट्याङ्की र निर्माणाधीन अन्य संरचनामा सांसदलाई पु-याएर आयोजनाबारे बिस्तृत जानकारी गराउने ।

निर्माणाधीन रिजर्भ्वायरहरुको सन्दर्भमा त सम्बन्धित रिजर्भ्वायरको काम, अहिलेसम्मको प्रगति, त्यसपछिको अर्को संरचनासँगको सम्बन्ध लगायतको बिषयमा आयोजना प्रमुख बन्जाडेले जानकारी गराउनुभयो । अनुगमनमा गएका सबैले वरिपरि बसेर सुने, मनमा उब्जेका प्रश्न सोधे ।

तर जब सबैभन्दा उचाई (याङबेल डाँडा) मा निर्माण गरिएको मुख्य ट्याङ्कीमा चढ्नु प-यो मोटाघाटा सांसद बमध्वजलाई त्यत्तिबेला निक्कै हम्मे हम्मे प-यो ।

ट्याङ्की माथि नै सुरु भयो आयोजनाको बारेमा छलफल । आयोजना प्रमुख बन्जाडेले त्यहाँबाट सीधा आँखाले ठम्याउन सकिने बस्तीका खानेपानी उपभोक्ताहरुको बारेमा समेत सांसदलाई जानकारी गराउनुभयो ।

‘यो याङ्बेल डाँडा, यहाँबाट सीधै तल सुनकोशीसम्मको दुरी करिब १४ किलोमिटर छ । त्यहाँबाट भोटेपाटी, मानेडाँडा, कालिमाटी, रक्तकाली र मौलेचौर गरी पाँच ठाउँमा पानी लिफ्टिङ गरेपछि बल्ल यहाँ पानी आईपुग्नेछ । यी दुवै ट्याङ्की ४/४ लाख लिटरका ट्याङ्की हुन् । यही मुख्य ट्याङ्कीबाट वितरण ट्याङ्कीमा पानी जान्छ । त्यस्ता वितरण ट्याङ्की २३ वटा बन्नेछन् ।  जुन उपभोक्ताको संख्या हेरेर ४० हजार लिटर क्षमतादेखि दुई लाख लिटर क्षमता सम्मका बन्नेछन्, वितरण ट्याङ्कीबाट घर घरमा निर्माण गरिएको धारामा पानी आपूर्ति गर्न फेरि १४ वटा वितरण च्याम्बर र २१८ वटा ब्रेक प्रेसर ट्याङक (बिपीटी) बन्नेछन् । मुख्य पाइपलाइन र वितरण लाइन गरी जम्मा ३ सय २२ किलोमिटर ८४ मिटर पाइप विछ्याइनेछ । ती मध्ये मुख्य पाइपलाइन मात्र ४३ किलोमिटर ८४ मिटर हुनेछ ।’

आयोजना प्रमुख बन्जाडेले भन्दै जानुभयो, सांसद दोङ लगायत अरुले मुन्टो हल्लाए । आयोजनाबारे ब्रिफिङको श्रृंखला रोकिएको थिएन ।
‘हामीले प्रयोग गर्ने तीन थरीका पाइप हुनेछन् । ती मध्ये HDPE पाइप २५ एम्एम देखि २५० एम्एम् सम्मका १७४ किलोमिटर ७३५ मिटर, PPR पाइप २५ एम्एम देखि ११० एम्एम सम्मका १२९ किलोमिटर ६५ मिटर र GI पाइप १५ एम्एम देखि १५० एम्एम सम्मका १९ किलोमिटर ३७ मिटर प्रयोग हुनेछन् । बीचमा कर्मचारी समायोजन लगायत कामले काममा सुस्तता आएपनि अब कामले गति लिइसकेको छ । हामी निर्धारित समयमै तेमालको ९ हजार ३१० परिवारलाई सुरक्षित खानेपानी दिलाउने हिसाबले काम गरिरहेका छौं । हामीलाई हरेक व्यक्तिको सपोर्ट चाहिएको छ ।’

कालिका – वसन्तचन्द कन्स्ट्रक्सनका प्रमुख वसन्त चन्दले भने आयोजनाका लागि आवश्यकीय पाइप र फिटिङ्क्सका सामान ढुवानी गर्ने क्रममा रहेको र साउन भित्रै निर्माण क्षेत्रमा पु-याईसक्ने बताउनुभयो । उहाँले पाइप बोक्ने ढुवानीको साधन राती मात्र चलाउनुपर्दा समस्या भएको र दिउँसो ढुवानी गर्न मिल्ने व्यवस्था मिलाउन सांसदले पहल गरिदिन आग्रह गर्नुभयो ।

आयोजना प्रमुख बन्जाडे र ठेकेदार चन्दको कुरा सुनेपछि सांसद दोङले तेमालबासीले बर्षौदेखि भोग्दै आएको खानेपानीको दुःख सदाको लागि अन्त्य गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले तेमाल खानेपानीको लागि बिनियोजित बजेट अपुग भएमा थप बजेट माग गर्नका लागि पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसपछि लाग्यौं, खानेपानीको मुख्य स्रोत सुनकोशी नदीमा । त्यत्तिबेला सम्म सुनकोशी नदीबाट पानी लिफ्टिङ गर्न बीच बीचमा निर्माणाधीन रिजभ्र्वायर ट्याङ्क, पाइप बिछ्याउन खनिएका लाइन र निर्माण क्षेत्रमा ढुवानी भइसकेको पाइप लगायत अनुगमन गरिसकेका थियौं ।

जब सुनकोशीमा निर्माण गरिएको इनार र पानी प्रशोधन केन्द्रमा पुग्यौं । फेरि दोहोरियो याङबेलको मुख्य ट्याङ्कीकै अवस्था । त्यहाँ निर्माण गरिएको पानी प्रशोधन केन्द्र र पानी प्रशोधन हुने विधिका बारेमा आयोजना प्रमुख बन्जाडेले पानी प्रशोधन केन्द्र संरचना माथि चढाएर ब्रिफिङ गर्नुभयो ।

त्यसपछि अन्त्यमा नदी किनारमा निर्माण भईरहेको इनारको अवलोकन ग-यौं । त्यो दिन इनारको दोस्रो लेयरको ढलान भईरहेको थियो । इनारमा पानी जम्मा हुने विधि र त्यहाँबाट पानी प्रशोधन केन्द्रमा तानेर विभिन्न चरणमा पानी प्रशोधन भएर मात्र बल्ल लिफ्टिङ हुने कुरा थाहा पाएपछि त्यस दिनको अनुगमन कार्य उपलब्धीमूलक भएको निष्कर्ष निकाल्दै काठमाडौ फर्कियौं ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र ठेकेदार कम्पनी बीच पहिलो प्याकेजका लागि २०७३ बैशाख २६ गते र दोस्रो प्याकेजका लागि २०७५ असार २२ गते सम्झौता भएको थियो । सम्झौता अनुसार आगामी २०७७ साल मंसिर २१ गतेभित्र खानेपानी आयोजना सम्पन्न गरी घरघरमा वितरण गर्नुपर्नेछ ।

तेमाल बृहत (सुख्खाक्षेत्र) पम्पिङ खानेपानी आयोजना सम्पन्न भएपछि काभ्रेको तिमाल गाउँपालिकाको ९ वटै वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको वडा नं. ७ को केही भागका गरी ९ हजार भन्दा बढी घरपरिवार लाभान्वित हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार