बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गरिएको छ । बुधबार नगरभित्रका करिब दुई सय टोल विकास संस्था, जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक तथा व्यवसायिक संघसंस्थाको उपस्थितिमा नगरपालिकालाई प्लाष्टिक झोलामुक्त घोषणा गरिएको हो ।
तिलोत्तमा नगरपालिकाले २०७५ वैशाख १ देखि नै प्लास्टिक झोलामुक्त बनाउन नियन्त्रण र सचेतना अभियान शुरु गरेको थियो । प्लाष्टिक झोलामुक्त अभियान सुरु गरेको १५ महिनापछि सफलता पाएको तिलोत्तमाले घोषणा सभामा ९ बुँदे संकल्प जाहेर गरेको छ । इलामपछि प्लास्टिक झोला निषेध गरिएको यो दोस्रो नगरपालिका हो ।
घोषणा सभामा सहभागीहरुले कुनै पनि प्रयोजनमा प्लास्टिक झोला, गिलास, प्लेट र चम्चाको प्रयोग नगर्ने, प्लाष्टिकजन्य वस्तुको उत्पादन तथा खरिद–बिक्री नगर्ने, प्लास्टिकजन्य वस्तु नजलाउने र जथाभावी नफ्याँक्ने लगायतका प्रतिवद्धता जनाएका छन् ।
घोषणा कार्यक्रममा नेकपा नेता एवं रुपन्देही–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले प्लास्टिकजन्य वस्तु मानव स्वास्थ्य र स्वच्छ वातावरणका लागि ज्यादै हानिकारक भएकाले यसलाई निषेध गर्नु ठूलो उपलब्धी भएको बताउनुभयो ।
‘तिलोत्तमाले गरेको यो पहल तिलोत्तमाका लागि मात्र हैन, सिंगो देशकै लागि राष्ट्रिय महत्वको विषय हो’ भुसालले भन्नुभयो, ‘अब तिलोत्तमाले अरुले भन्दा पहिला नगरपालिकालाई भ्रष्टाचारमुक्त घोषणा गर्ने कुरालाई प्राथमिकता दिनुपर्छ ।’
सडक, शिक्षा, सामुदायिक सिञ्चाई जस्ता धेरै कुरामा तिलोत्तमा देशमै अग्रणी रहेको भन्दै उहाँले ‘तिलोत्तमाले आज जे गर्छ, नेपालले त्यो भोलि गर्छ भन्ने नमूना हामी पेश गर्न सक्छौं, भन्नुभयो ।
प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले प्लास्टिक निषेध कार्यक्रम चुनौतिपूर्ण रहे पनि यसलाई कार्यान्वयन गर्न प्रदेश सरकारले साथ दिने बताउनुभयो ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले वातावरण संरक्षण ऐन २०५३ को दफा ७ (३) को अधिनमा रहेर ‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’ नारा अंगिकार गरी प्लाष्टिक झोला निषेध अभियान शुरु गरिएको बताउनुभयो । नगरका झण्डै दुई सय टोल विकास संस्था, वडा कार्यालय, जनप्रतिनिधि, सामाजिक र व्यवसायिक संघसंस्थाको साथले अभियान सफल हुने उनको विश्वास छ ।