काठमाडौ ओडिएफ गर्न वडा सचिवहरुको बृहत भेला

 

काठमाडौ : काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न वडा सचिवहरुको भूमिकाका बिषयमा बृहत छलफल गरिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेको उपस्थितिमा ३२ वटै वडाका सचिवहरुको भेलाले काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न खेल्नुपर्ने भूमिकाका बिषयमा बृहत छलफल गरिएको हो ।

वडा सचिवहरुले आफूहरुको तर्फबाट आफ्नो वडा र महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न के गर्नुपर्ने हो ? खुलेर सहयोग गर्न तयार रहेको बताए । उनीहरुले अहिले छोटो समयकै बीचमा सबै विवरण संकलन गर्न समस्या भएपनि खुला ठाउँमा दिसा गर्न सक्ने ठाउँहरुको पहिचान गरी ती ठाउँमा चर्पी भए नभएको बिषयमा तथ्याङ्क संकलन गर्न सकिने बताए ।

यस्तै काठमाडौ महानगरपालिका खुला दिसामुक्त घोषणा नभएपनि खुला रुपमा दिसा गर्ने मानिसहरु नभएको बरु कुकुरको दिसा यत्रतत्र देखिएकाले त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने सचिवहरुको भनाइ थियो ।

काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले यो राष्ट्रिय अभियान भएकाले अरु काम थाँती राखेर भएपनि खुला दिसामुक्त महानगर बनाउन सबैले ध्यान दिन आग्रह गर्नुभयो । उहाँले काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न ढिलाई भएको भन्दै अब खेलाँची गरेर बस्ने समय नरहेको बताउनुभयो ।

सचिवहरुको भेलामा सरसफाइ विज्ञ नमस्तेलाल भूमि श्रेष्ठले सरसफाइको इतिहास, यसको औचित्य र अब गर्नुपर्ने कामका बारेमा प्रष्ट पार्नुभएको थियो । उहाँले काठमाडौका ३२ वटै वडा र महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न अपनाउनुपर्ने सैद्धान्तिक तथा व्यवहारिक पक्षका बारेमा बताउनुभयो ।

यस्तै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर कुल प्रसाद शर्माले आफूहरु सरसफाइको अवस्थाबारे बुझ्न अनुगमनमा आउँदा वडा कार्यालयले सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले सार्वजनिक शौचालयको क्षेत्रमा गुठीले गरिरहेको कामका बारेमा जानकारी गराउनुभयो ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने आफूहरुले महानगरलाई आगामी भदौ २० गतेभित्र खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेपनि त्यस अगावै घोषणा गर्ने बताउनुभयो । यो काम सबै वडाहरुको संयुक्त प्रयासबाट मात्र सम्भव हुने भन्दै उहाँले यो राष्ट्रिय अभियानमा सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

 

महानगरपालिकाले केही दिन अघि नै वडाको प्रत्येक घर घरमा चर्पी भए, नभएको एकीन गर्न, चर्पी भएको घरको संख्या पत्ता लगाउन, घरपरिवार र भाडामा बस्ने परिवारको संख्याको पहिचान गर्न, घरमा रहेको चर्पी भाडावालालाई प्रयोग गर्न दिएको वा नदिएको एकीन गर्न, वडामा सार्वजनिक शौचालयहरुको तथ्याङ्क राख्न वडा कार्यालयहरुलाई पत्राचार गरेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार