फोहोरले दिनहुँ बिरामी

 

 

बारा : बाराको जितपुर–सिमरा उपमहानगरपालिका बासिन्दा फोहोरका कारण दिनहुँ बिरामी पर्न थालेका छन् । उपमहानगरपालिकाले फोहोर नउठाउँदा सिमरा, जितपुर, पथलैया जस्ता धेरै जनघनत्व भएका शहरका बासिन्दा बिरामी पर्न थालेका हुन् ।

जताततै फोहोर थुप्रिएर दुर्गन्ध फैलिन थालेपछि रुघाखोकीको संक्रमण फैलिएको छ । नगरमा ९४ जना नयाँ क्षयरोगी फेला परेको जिल्ला जनस्वास्थ्य कुष्ट रोग शाखाले जनाएको छ । फोहोरका कारण रुघाखोकी, स्वासप्रश्वासका बिमारी समेत बढ्दै गएको चिकित्सकहरू बताउँछन् । पछिल्लो पाँच महिना यता यस्ता बिरामी बढ्दै गएको उनीहरूको भनाइ छ ।

नगरपालिकाले फोहोर नउठाएपछि केही टोल र बजारमा नगरबासी, ब्यापारी, व्यवसायीले फोहोरका लागि कर नतिर्ने भन्दै आफैं सफा गर्न थालेका छन् । सिमरा विमानस्थल रोड, पथलैया बजार लगायतका स्थानीयले समूह बनाई दैनिक केही रकम संकलन गरी फोहर सफा गर्न थालेका हुन् ।

तर, उपमहानगरपालिकाले ठेकेदारसँग मिलेर फोहर संकलन कर सुरु गरेपछि सातामा एक पटक फोहर उठाउन थालिएको छ । यसले बजार दुर्गन्धित हुँदा व्यापार समेत घटेको छ । सिमरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शिव पौडेलले फोहोर व्यवस्थापन नहुँदा नगरवासीको स्वास्थ्यमा गम्भीर असर देखिने थालेको बताउनुभयो ।

उपमहानगरपालिकाले फोहर संकलन गर्न तीन जनालाई जिम्मा दिएको छ । त्यसका लागि उपमहानगरपालिकाले दुई वटा ट्याक्टर, दुई वटा टिपर, चार जना चालकसहित इन्धन र भत्ता उपलब्ध गराउने गरेको छ । नगरकै ठूलो जितपुर खाद्यान्न बजारमा मासिक १ लाख ६१ हजार र सिमरा–पथलैयामा २ लाख १ हजारमा कर उठाउन उनीहरूलाई नगरले स्वीकृति दिएको छ । जसमा होटलले मासिक २ सय, पसलले १ सय र निजी घरले ५० रूपैयाँ तिर्नुपर्छ ।

तर, फोहोर संकलनको जिम्मेवारी लिएकाहरू कयौं दिनसम्म बेपत्ता हुने गरेका छन् । यसबाट आजित भएका पथलैया, सिमरा र जितपुरका बासिन्दाले फोहोर कर नदिने र आफ्नो घर आँगन सके आफैंले नसके टोल समिति बनाएर सफा गर्ने बताएका छन् ।

उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष हीराबहादुर गुरुङले आफूले फोहोर व्यवस्थापन गरी नगरलाई सफा गर्न मेयर, कार्यकारी अध्यक्ष र ठेकेदारलाई भने पनि बेवास्ता गरिएको गुनासो गरे । जनताले आफैं वा टोल समिति बनाएर सफा गर्छौं तर, नगरलाई कर तिर्दैनौं भन्दा आफूसँग कुनै उत्तर नभएको उहाँले बताउनुभयो ।

जितपुर–सिमरा उपमहानगरपालिकामा दैनिक १.१ टन फोहोर संकलन हुने गरेको छ । त्यसको व्यवस्थापनका लागि उपमहानगरपालिकाले वार्षिक १ करोड रूपैयाँ खर्च गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार