नाम चलेकै स्कुलको ढल सीधै खोलामा

 

काठमाडौ : काठमाडौ महानगरपालिकाको वडा नं. १५ स्वयम्भुमा रहेको The Excelsior School को ढल सीधै खोलामा मिसाएको भेटिएको छ । काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न गठित अनुगमन टोलीले स्वयम्भुको The Excelsior स्कुलले आदेश्वर खोलामा ढल मिसाएको भेटिएको हो ।

स्कुलले खोलामा ढल मिसाएपछि वरिपरिकै सबैजसो घरपरिवारले समेत सोही खोलामा शौचालयको ढल मिसाएका छन् । सुरुमा स्कुलले ढल मिसाएपछि आफूहरुले पनि खोलामै ढल मिसाउन थालेको लालमति सरु मगरले बताउनुभयो । स्कुलको अघिल्तिर अव्यवस्थित बस्ती छ, सोही बस्ती अगाडि स्कुलले ढलको पाइप खसाइएको छ ।

 

बर्षा याममा खासै असर परेको अनुभव नगरेका उनीहरु जब हिउँद याम सुरु हुन्छ तब गन्हाएर बसिनसक्नु हुने उनीहरु बताउँछन् । स्कुलमा धेरै विद्यार्थी भएकाले सोही मात्रामा दिसापिसाब खोलामा मिसाइएकाले दुर्गन्ध फैलिने गरेको अव्यस्थित बस्तीका तेञ्जिङ वाईबाले बताउनुभयो ।

‘यहाँ सबै जसो घरको ढल खोलामै मिसाइएको छ, स्कुलले मिसाउँदा हामीले किन मिसाउन नहुने भन्ने लागेर पनि सबैजसोले खोलामै मिसाएका हुन् तर स्कुलको ढलले हामीलाई बसिनसक्नु बनाएको छ, हाम्रो घरकै अगाडि ल्याएर झारिदिएको छ’ बाइबाले भन्नुभयो ।
अनुगमन टोलीका संयोजक एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख हरिदत्त पौडेलले यस्ता स्कुललाई कानुन बमोजिम कार्वाही गर्नुपर्ने बताउनुभयो ।

‘स्कुल र सिङ्गो बस्तीकै शौचालयको ढल सीधै खोलामा मिसाएको पाइयो, यो खुला दिसामुक्त घोषणाका लागि बाधक भने होइन, यसलाई पूर्ण सरसफाइ अभियानमा अनिवार्य सुधार्न आवश्यक छ । हाम्रो टोलीले सम्बन्धित वडा तथा महानगरपालिकालाई सुझाव पनि दिनेछौं’ उहाँले भन्नुभयो ।

काठमाडौको ३२ वटै वडामा शौचालय भए नभएको बारे टोलीले अनुगमन गरिरहेको छ । आगामी भदौ २० गते भित्र काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले यस अघि नै निर्णय गरिसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार