मनै लोभ्याउने खानेपानी संरचना (फोटो कथा)

काभ्रेपलाञ्चोक : प्राकृतिक सुन्दरतामा डुबुल्की नमार्ने मानिस को होला संसारमा ? हिमाल, नदीनाला, पहाडबाट झर्ने सेताम्मे झरना, पहाडका टाकुरा, सुन्दर बस्ती, हरियो बनजंगलले मानिसलाई आफ्नो कब्जामा पार्छ ।

कतिपय मानव निर्मित संरचना पनि यस्ता हुन्छन् जसले एकातिर विकासको पूर्वाधारको काम गरिरहेको हुन्छ भने अर्कोतिर सुन्दरताको । काभ्रेको तेमाल गाउँपालिकामा निर्माण भईरहेको खानेपानीको संरचनाले यी दुवै काम गरिरहेको छ । त्यहाँ निर्माण भईरहेका खानेपानीका संरचनाहरु यत्ति आकर्षक छन् कि तपाईलाई त्यही बसिरहुँ बनाउँछ । जुन ठाउँमा ती संरचना बनेका छन् त्यसले सम्बन्धित ठाउँलाई सुशोभित बनाएको छ ।

 

तेमाल गाउँपालिकाको भोटेपाटी, मानेडाँडा, कालिमाटी, रक्तकाली र मौलेचौर गरी पाँच ठाउँमा पानी लिफ्टिङ गर्ने रिजर्भ्वायर ट्याङ्की निर्माण भईरहेका छन् । ती रिजर्भ्वायर ट्याङ्की खानेपानी लिफ्ट गर्न बनाईका हुन् ।

सुनकोशी नदीको किनारामा बनाईएको सम्पवेलबाट पानी प्रशोधन केन्द्रमा पानी चढाएपछि  त्यहाँ प्रशोधन भएको पानी रिजर्भ्वायर ट्याङकी हुँदै अन्त्यमा याङ्बेल डाँडामा निर्माण गरिएको जोर ट्याङ्कीमा पानी जम्मा हुनेछ । सुनकोशी नदी र याङ्बेल डाँडाको सीधा दुरी करिब १४ किलोमिटर छ ।

 

याङ्बेल डाँडामा निर्माण गरिएको दुवै ट्याङ्की ४/४ लाख लिटरका ट्याङ्की हुन् । यही मुख्य ट्याङ्कीबाट वितरण ट्याङ्कीमा पानी जान्छ । त्यस्ता वितरण ट्याङ्की २३ वटा बन्नेछन् । जुन उपभोक्ताको संख्या हेरेर ४० हजार लिटर क्षमतादेखि दुई लाख लिटर सम्मका छन् ।

वितरण ट्याङ्कीबाट घर घरमा निर्माण गरिएको धारामा पानी आपूर्ति गर्न फेरि १४ वटा वितरण च्याम्बर र २१८ वटा ब्रेक प्रेसर ट्याङक (बिपीटी) बन्नेछन् । मुख्य पाइपलाइन र वितरण लाइन गरी जम्मा ३ सय २२ किलोमिटर ८४ मिटर पाइप विछ्याइनेछ । ती मध्ये मुख्य पाइपलाइन मात्र ४३ किलोमिटर ८४ मिटर हुनेछ ।

 

 

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र ठेकेदार कम्पनी बीच पहिलो प्याकेजका लागि २०७३ बैशाख २६ गते र दोस्रो प्याकेजका लागि २०७५ असार २२ गते सम्झौता भएको थियो । सम्झौता अनुसार आगामी २०७७ साल मंसिर २१ गतेभित्र खानेपानी आयोजना सम्पन्न गरी घरघरमा वितरण गर्नुपर्नेछ ।

 

तेमाल बृहत (सुख्खाक्षेत्र) पम्पिङ खानेपानी आयोजना सम्पन्न भएपछि काभ्रेको तिमाल गाउँपालिकाको ९ वटै वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको वडा नं. ७ को केही भागका गरी ९ हजार भन्दा बढी घरपरिवार लाभान्वित हुनेछन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार