लहानमा फोहोर फालेको विरोधमा प्रदर्शन

सिरहा : लहान नगरपालिका–४ का स्थानीयले महिलामाथि दुर्व्यवहार गरेको र फोहोर फालेको विरोधमा विरोध प्रदर्शन गरेका छन् ।
५ महिनादेखि फोहोर फाल्न नदिने अडान लिएका स्थानीयले प्रहरीको आडमा नगरपालिकाले महिलामाथि दुर्व्यवहार गरेको आरोप समेत लगाएका छन् ।

सडकमा थुप्रिएको फोहोर फाल्न प्रहरी सहित नगरप्रमुख मुनि साह सुडि लगायत अन्य वडाका जनप्रतिनिधि फोहोरमैला व्यवस्थापन केन्द्र पुगेका थिए । लहान नगरपालिकाको वडा नम्बर ४ का बासिन्दाको अवरोधका कारण एक महिनादेखि नगरपालिकाले फोहोर उठाउन सकेको छैन ।

स्थानीयले अदालतमा विचाराधीन रहेको मुद्दाको फैसला नहुन्जेल फोहोर फाल्न नदिने भन्दै नाराबाजी गरेका थिए । उनीहरुले फोहोर बोकेका ट्रयाक्टर रोकेपछि झडप भएको थियो ।

फोहोर विसर्जनका क्रममा झडप हुँदा वडा सदस्य उर्मिलादेवी दास, स्थानीय राधादेवी दास, रामकुमारी पासवान, राजाराम पण्डित लगायत घाइते भएको स्थानीयबासिन्दाको दाबी छ ।

नगरपालिकाले अदालतको मानहानी गरेको र प्रहरी लगाएर दमन गरेको भन्दै ४ नम्बर वडाका बासिन्दाले शनिबार नगरप्रमुख साहको पुत्ला बनाएर नगरका विभिन्न भागमा परिक्रमा गरी विरोध प्रदर्शन गरेका थिए ।

फोहरमैला व्यवस्थापन केन्द्रबाट शनिबार अपरान्ह निस्किएको जुलुसले नगर परिक्रमा गरी २ नम्बर रोडमा पुगेर कोणसभा गरेका थिए । कोणसभा भइरहँदा प्रहरीले पुत्ला खोसेर लगेका थिए ।
लहान–४ स्थित फोहोरमैला व्यवस्थापन केन्द्रमा फालेको फोहोरले दुर्गन्ध बढाएको भन्दै स्थानीयले ६ महिनादेखि अवरोध गर्दै आएका छन् ।
२०७१ सालमा लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारको ३५ विघा जग्गामध्ये १२ विघामा सर्वदलीय संयन्त्र र स्थानीयवासीको भेलाबाट फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने निर्णय गरेको थियो।

फोहरमैलालाई वातावरणमैत्री तवरले दीर्घकालीन व्यवस्थापन गर्न नगरपालिकाले त्यतिखेर संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जगेडा कोषबाट ५२ लाख ५५ हजार लागतमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरेको थियो । तारबार घेरासहित केन्द्रमा आँप लगायत फलफूलको बिरुवा रोपेर बगैचा समेत बनाइएको थियो।

त्यतिखेर फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको विरोध गर्दै स्थानीय रामप्रसाद महतो र रामप्रकाश पासमानले पुनरावेदन अदालत राजविराजमा रिट दायर गरेपछि अदालतले २०७१ जेठ २२ मा अन्तरिम आदेश जारी गरेको थियो । तर रिट निवेदक र नगरपालिका बीच सहमति भएपछि २०७१ जेठ २९ गते महतो र पासमानले रिट फिर्ता लिएका थिए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार