काठमाडौ महानगरलाई खुलादिसामुक्त घोषणा गर्न अनुमति प्रदान

 

काठमाडौ : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) काठमाडौले महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न अनुमति दिईएको छ । डिवाससीसी अध्यक्ष शिवसुन्दर राजवैद्यको अध्यक्षतामा बसेको डिवाससीसी बैठकले काठमाडौ महानगरपालिका खुला दिसामुक्त घोषणा गर्न योग्य रहेको ठहर गर्दै खुला दिसामुक्त घोषणा गर्ने अनुमति दिईएको हो ।

डिवाससीसीले अनुमति प्रदान गरेसँग काठमाडौ महानगरपालिकालाई यही भदौ २४ गते खुला दिसामुक्त घोषणा गर्ने मिति तय गरिएको छ । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले महानगरपालिकालाई यही भदौ २४ गते खुला दिसामुक्त घोषणा गर्ने मिति निर्धारण गरिएको बताउनुभयो ।

त्यसअघि जिल्ला स्तरीय अनुगमन समितिका संयोजक एवं डिवाससीसीका सदस्य सचिव हरिदत्त पौडेलले अनुगमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले काठमाडौ महानगरपालिकाभित्रका सबै घरधुरीमा शौचालय सुविधा रहेको, कतिपय अव्यवस्थित बस्तीको ढल सीधै खोलामा मिसाइएकाले दिसाजन्य लेदो व्यवस्थापनमा ध्यान दिनुपर्ने, महानगरपालिका भित्रको सार्वजनिक शौचालय अपर्याप्त रहेकाले क्रमशः थप शौचालय निर्माण गर्दै जानुपर्ने सुझाव दिनुभएको थियो ।

प्रतिवेदनमा सुकुम्बासी बस्तीहरुमा निर्मित शौचालयको स्तर सुधार्नुपर्ने, ढल निकासको व्यवस्था हुनुपर्ने, फोहोर व्यवस्थापनको कामलाई अझ प्रभावकारी तुल्याउनुपर्ने लगायत सुझाव समेत समेटिएका थिए ।

महानगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले भदौ १५ गते जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिलाई पत्र लेखी प्रमाणीकरण गरी ओडिएफ गर्न अनुमति पाउँ भनी अनुरोध गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार