पर्सा जिल्ला र बीरगञ्ज महानगर एकैसाथ खुला दिसामुक्त घोषणा

 

पर्सा : प्रदेश २ को पर्सा जिल्ला र बीरगञ्ज महानगरपालिकालाई एकैसाथ खुला दिसामुक्त घोषणा गरिएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) पर्साले आयोजना गरेको कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पर्सालाई खुला दिसामुक्त जिल्ला एवं पूर्ण सरसफाइ शुभारम्भ भएको घोषणा गर्नुभयो ।

पर्सा खुला दिसामुक्त घोषणा हुनेमा प्रदेश २ को पाँचौ तथा देशको ७०औं जिल्लामा परेको छ । पर्सालाई खुला दिसामुक्त घोषणा गर्नु अघि पर्साको घण्टाघरमा भेला भई विभिन्न प्लेकार्ड सहित  र्‍याली निकालेको थियो ।

र्‍यालीमा विभिन्न गाउँपालिका तथा नगरपालिकाबाट आएका विभिन्न संघसंस्थाका प्रतिनिधी, नेपाल प्रहरी, महिला स्वास्थ्य स्वयं सेविका, बृद्धबृद्धा, सरसफाइ अभियन्ता, उद्योगी व्यापारी एवं स्थानीयबासिन्दाको सहभागिता थियो ।

खुला दिसामुक्त घोषणा सभाका अध्यक्ष एवं जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति पर्साका अध्यक्ष नेक महमद अन्सारीले खुला दिसामुक्त घोषणा पर्सा जिल्लाको शान भएको बताउनुभयो । उहाँले यस अभियानलाई सफलीभूत पार्नका लागि अहोरात्र खटिएका संघसंस्था, कर्मचारी, डिवाससीसीका सदस्यहरु एवं सरोकारवाला सबैलाई धन्यबाद दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूले खुला दिसामुक्त अभियानलाई सधैं सकारात्मक दृष्टिले हेरेको, सक्दो सहयोग गरेको र जिल्लाको सरसफाइ एवं स्वच्छताका लागि मुख्यमन्त्री स्वच्छता अभियान सञ्चालनमा रहेको स्मरण गर्नुभयो । सरसफाइ कुनै पनि समाजको सभ्यताको पहिचान भएकाले हाल समेट्ने नसकिएको क्षेत्रलाई अब पूर्ण सरसफाइका क्रममा समेट्नुपर्ने धारणा राख्नुभयो ।

घोषणा समारोहमा खुला दिसामुक्त अभियानमा सुरु देखि नै क्रियाशील संघसंस्था, कर्मचारी एवं सरसफाइ अभियन्तालाई सम्मान गरिएको थियो ।

पर्सामा करिब १ लाख घरपरिवार छन् । ती सबै घरमा शौचालय निर्माण भई प्रयोगमा आईसकेको र केही घरमा संयुक्त शौचालयको प्रबन्ध मिलाइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराका डिभिजन प्रमुख एवं जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) का सदस्य सचिव जक्की अहमद अन्सारीले जानकारी दिनुभयो ।

 

पर्सा जिल्ला खुला दिसामुक्त घोषणा समारोहका थप फोटाहरु :

 

फोटोहरु विनोद कुमार महतो तथा राजन शाहको फेसबुकबाट 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार