सर्लाही : बरहथवा नगरपालिकाको मूल ढोकामा फोहोर थुप्रिएको छ । कार्यालय खुल्नु अघि नै सफाई कर्मचारी सहित स्थानीयले दुई ट्याक्टर फोहोर कार्यालय अगाडि थुपारिदिएका हुन् । नगरपालिकाले नियुक्त गरेका सफाई कर्मचारीको आन्दोलनका कारण नगरपालिकाको कार्यालयमै फोहोर थुप्रिएको हो ।
सेवा–सुविधा थप्नुपर्ने माग सहित दसैंमा कतिपय सफाई कर्मचारीले तलब समेत नपाएको भन्दै उनीहरूले फोहोर उठाउन छाडेपछि सर्लाहीको प्रमुख व्यापारिक केन्द्र बरहथवा दुर्गन्धित बनेको छ । काम विशेषले कार्यालय पुगेका सेवाग्राही नाक थुनेर फर्किन्छन् । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको लापारबाहीका कारण कार्यालय खुल्ने दिन पनि आफूहरूले सेवा नपाएको सेवाग्राहीको गुनासो थियो । बरहथवा बजारमा ६ दिनदेखि फोहोर उठ्न नसक्दा दुर्गन्ध फैलिएको छ ।