गुहेश्वरी ढल प्रशोधन निर्माणको काम अन्तिम चरणमा

 

काठमाडौ : गुहेश्वरी स्थित ढल प्रशोधन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भईसकेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

खानेपानीमन्त्री बिना मगरले गुहेश्वरीस्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको शनिबार निरीक्षण गर्नुभयो । निरीक्षणपछि उहाँले पशुपति क्षेत्रस्थित बागमति नदीमा बग्ने पानीलाई सफा पानी बनाउने लक्ष्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले बढ्दो शहरीकरणले सबै शहरमा ढल व्यवस्थापनको समस्या बढ्दै गएको उल्लेख गर्दै काठमाण्डौमा भने चुनौतिपुर्ण नै बनेको बताउनुभयो ।
उहाँले फोहरको व्यवस्थापकिय पक्ष प्रति मन्त्रालय गम्भीर रहेको भन्दै बागमतीको महत्वलाई कायम राख्दै जीवन्त बनाई सबै किसिमको धार्मिक संस्कारलाई सहजीकरण हुने गरि व्यवस्था मिलाईने आश्वासन पनि दिनुभयो ।

नदी सफाइका लागि अब गुहेश्वरीमा फोहोरपानी प्रशोधन केन्द्र बन्दैछ, जहाँ गोकर्णदेखि गुहेश्वरीसम्मको ढल जोडिनेछ ।बाँकी सबै काम आगामी डिसेम्बरसम्म सकेर उद्घाटन गर्ने लक्ष्य रहेको खानेपानी मन्त्री मगरले जानकारी दिनुभयो ।

बाग्मतीलाई ढल रहित बनाउने अभियानमा यो निकै महत्वपूर्ण आयोजना भएको भन्दै मन्त्री मगरले भन्नुभयो,’पशुपतिनाथका भक्तजनहरुले बाग्मतीको पानी पिउन नसके पनि नुहाउनसक्ने बन्नेछ ।’ अहिले काठमाडौं उपत्यकामा घर घरबाट निस्कने ढल सिधै नदीमा मिसाइन्छ । यसले पानीको स्रोत प्रदुषित मात्रै भएको छैन, काठमाडौंको सभ्यता माथि नै प्रश्न उब्जाएको छ ।

ढललाई प्रशोधन केन्द्रसम्म पुर्‍याएर विभिन्न चरणमा प्रशोधन गरिनेछ । त्यस क्रममा ग्यास समेत निस्कनेछ । त्यो ग्यास प्रयोग गरेर बिजुली निकाल्ने योजना छ । गुह्येश्वरीबाट मात्र ३२० किलोवाट बिजुली निकाल्ने बताइएको छ ।

गुहेश्वरीमा दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानी प्रशोधन गर्न सक्ने प्लान्ट बनेको छ । २ अर्ब ५५ करोड रुपैयाँ लागत रहेको गुहेश्वरीको प्रशोधन केन्द्रको निर्माण भारतीय कम्पनी भा टेक वाबाग लिमिटेडले गरिररहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार