काठमाडौ : टेकुस्थित ट्रान्सफर स्टेसनमा अब फोहोर जम्मा गर्न नपाइने भएको छ । फोहोर संकलन गरेर ल्याइएको दिन नै डम्पिङ साइटमा पुर्याइसक्नुपर्ने काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले बताउनुभयो ।
महिनौंदेखि जम्मा भएको करिब तीन मेट्रिक टन फोहोर आइतबार उठाएर ओखरपौवा पुर्याइएको थियो । सो क्रममा अधिकृत न्यौपानेसहित महानगरपालिकाको वातावरण विभागका अधिकारी स्टेसन पुगेका थिए । फोहोर उठाइसकेपछि उक्त ठाउँ पखालेर फिनेल र चुना छर्किइएको वातावरण विभागले जनाएको छ ।
‘स्टेसन भनेको एक छिन बिसाउने, नमिलेको फोहोर मिलाउने ठाउँ मात्र भएकाले ‘प्राविधिक समस्या भए मात्र एक दिनसम्म राख्न सकिने र अर्को दिन डम्पिङ साइटमा पठाइहाल्नुपर्ने उहाँले बताउनुभयो ।
सहरका सडक र गल्ली–गल्लीमा पुगेर फोहोर जम्मा गरेपछि ट्रान्सफर स्टेसनमा ल्याउने गरिएको छ । संकलित फोहोरलाई ठूला सवारीसाधनबाट ल्यान्डफिल साइटमा पुर्याउने गरिन्छ । कुनै एक ठाउँमा समस्या भयो भने त्यसको चाप सीधै स्टेसनमा पर्दा फोहोर थुप्रिन्छ ।
स्टेसनलाई सधैं सफा राख्न अझ प्रयास गरिने वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । फोहोर उत्पादनदेखि अन्तिम व्यवस्थापन गर्ने प्रणालीमा सबै जिम्मेवार भए फोहोर व्यवस्थापन सजिलो हुने उहाँले बताउनुभयो ।
टेकुमा सञ्चालित ट्रान्सफर स्टेसन करिब ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । अब महानगरले बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने योजना अघि सारेको छ । विभागले २०७२ भदौमा पनि ट्रान्सफर स्टेसनलाई फोहोर शून्य बनाएको थियो ।