सिन्धुपाल्चोकका १५ विद्यालयमा १ सय ३१ सिएस फिल्टर

मेलम्ची : महेन्द्र मावि सुपारीटारकी कक्षा १० की छात्रा सोनी दंगाल विद्यालय आउने बित्तिकै फिल्टरमा पानी भए नभएको हेर्छिन् । सफा गर्नु पर्ने छ भने सफा गरेर नत्र पानी ल्याएर फिल्टरमा हाल्छिन् । सुरक्षित पानी पिउन पाएपछि पानीजन्य रोगबाट ढुक्क महशुस गरेकी उनले फिल्टरलाई पनि आफ्नै सम्पत्ति ठानेकी छिन् ।

‘माटोमा चाँदी लेपन गरेर बनाइएको क्याण्डल भएर सिल्भर कोलाइडल (सिएस) फिल्टर भनिएको हो । यस फिल्टरले पानीमा भएको किटाणुलाई नष्ट गरेर सुरक्षित पानी उपलब्ध गराउँछ ।’ बोतलमा पानी थाप्दै सोनीले भनिन्, ‘दुषित पानीका कारणले लाग्ने रोगहरुबाट बच्नका लागि सिएस फिल्टरले मद्दत गरेको छ । म विद्यालय आउने बित्तिकै फिल्टरको सफा गर्ने र पानी भर्ने काम गर्छु । सफा कपडा वा नरम ब्रस अथवा जालीबाट फिल्टरको क्याण्डल सफा गर्ने गरेका छौं ।’

सिन्धुपाल्चोकका भूकम्प प्रभावित विद्यालयको पुननिर्माण परियोजनाले महेन्द्र माविमा झण्डै डेढ वर्षअघि २ वटा क्याण्डल सहितको १५ वटा सिएस फिल्टर र १५ वटा स्ट्याण्ड उपलब्ध गराएको थियो । सिएस फिल्टरका कारण विद्यार्थी सुरक्षित पानीको पहुँचमा पुगेको प्रधानाध्यापक नेत्र भट्टराईले बताए । ‘सामान्य फिल्टरले पानी छान्ने काम मात्रै गर्ने रहेछ तर यो सिएस फिल्टरले पानीमा भएका किटाणुलाई नष्ट गरेर सुरक्षित पानी उपलब्ध गराउँछ । १५ वटा सिएस फिल्टर र १५ वटै स्ट्याण्ड हामीलाई प्राप्त भएको छ ।’ उनले भने, ‘स्ट्याण्डमा बार नभएका कारण साना केटाकेटीले पानी थाप्ने क्रममा फिल्टर खसेर भित्रको क्याण्डल फुट्ने गरेको छ । सुरु सुरुमा यो समस्या अलि धेरै नैं आयो । क्याण्डल फुटे पनि विद्यालयले तुरुन्त खरिद गरेर जडान गर्ने गरेका छौं । क्याण्डल मेलम्चीमैं पाइने भएर हामीलाई सजिलो पनि छ ।’

खानेपानी योजना निर्माणका बेला गरिएको पानीको गुणस्तर परीक्षणमा कोलिफर्म (दिसाको किटाणु) देखिएका विद्यालयमा कारितास स्वीटजरल्याण्ड र हेल्भेटास नेपालले कोलाइडल सिल्भर फिल्टर उपलब्ध गराएका हुन् ।

तिम्बुमा रहेको गोल्मादेवी माविमा पनि सिएस फिल्टर उपलब्ध गराएको एक वर्ष पुरा भएको छ । प्रत्येक कक्षा, पुस्तकालयमा र कार्यालयमा एक एक वटाका दरले गरी १३ वटा सिएस फिल्टर र १३ वटै स्ट्याण्ड प्राप्त भएको प्रधानाध्यापक टिकाराम उप्रेतीले बताए । ‘पानीको गुणस्तर परीक्षण गर्दा सिधै पिउन नमिल्ने देखिएकोले फिल्टर जडान गरिएको हो । कारितासले फिल्टर उपलब्ध गराएकै दिनमा फिल्टरको महत्व, प्रयोग गर्ने तरिका र मर्मत सम्भारका बारेमा अभिमुखिकरण समेत गराएको थियो ।’ उनले भने, ‘समय समयमा नरम कपडालाई भिजाएर क्याण्डल र फिल्टरलाई बिस्तारै माझ्ने गर्ने गरेका छौं । पटक पटक क्याण्डल भाँचिने वा फुट्ने समस्या आउने रहेछ । मर्मत सम्भार कोष बनाएर क्याण्डल भाँचिँदा वा फुट्दा त्यसमा भएको रकम परिचालन गर्ने योजनामा छौं ।’

 

विद्यार्थी र शिक्षकलाई सुरक्षित पानी उपलब्ध गराउने उद्देश्यले महेन्द्र र गोल्मादेवी माविसँगै मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका १५ विद्यालयमा एक सय ३१ वटा सिएस फिल्टर र स्ट्याण्ड उपलब्ध गराएको हो । खानेपानी योजना निर्माणका बेला गरिएको पानीको गुणस्तर परीक्षणमा कोलिफर्म (दिसाको किटाणु) देखिएका विद्यालयमा कारितास स्वीटजरल्याण्ड र हेल्भेटास नेपालले कोलाइडल सिल्भर फिल्टर उपलब्ध गराएका हुन् । ‘हेलम्बु गाउँपालिकाको महेन्द्र माविमा १५, गोल्मादेवी माविमा १३, जय बागेश्वरी माविमा १२, महाकाली निन्देश्वरी आधारभुत विद्यालयमा ६, सिद्धार्थ आधारभुत विद्यालयमा ६, हेलम्बु आधारभुत विद्यालयमा ६, भञ्ज्याङ आधारभुत विद्यालयमा ५ वटा फिल्टर उपलब्ध गराइएको छ ।’ सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चका कार्यक्रम अधिकृत विनोद शर्माले भने, ‘मेलम्ची नगरपालिका अन्तर्गत जनता माविमा १५, बतासे माविमा १२, जलवाइदेवी माविमा ११, ज्योती भञ्ज्याङ आधारभुत विद्यालयमा ९, गोल्मेश्वरी आधारभूत विद्यालयमा ९, जागेश्वरी आधारभुत विद्यालयमा ५, कोलेचौर आधारभुत विद्यालयमा ४ र सूर्योदय आधारभुत विद्यालयमा ३ वटा फिल्टर उपलब्ध गराइएको हो ।’

स्थानीय साझेदार संस्था सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चसँगको सहकार्यमा दुई वटा कोलाइडल सिल्भर क्याण्डलसहित स्टिलको भाँडो भएको फिल्टर वितरण गरिएको छ । सबै विद्यालयमा १८ देखि २१ लिटर क्षमताको फिल्टर र फिल्टर राख्ने फलामको स्ट्याण्ड समेत उपलब्ध गराइएको छ । विद्यार्थी र शिक्षक सँख्याको आधारमा फिल्टर उपलब्ध गराइएको र विद्यार्थी तथा शिक्षक सहितलाई फिल्टर जडान र प्रयोगका बारेमा अभिमुखिकरण समेत गराइएको मञ्चले जनाएको छ ।

पानीजन्य रोगबाट बिद्यार्थी तथा शिक्षकलाई बचाउन र सुरक्षित पानीका बारेमा विद्यार्थी मार्फत अभिभावक र समुदायसम्म सचेतना फैलाउने उद्देश्य सहित कोलाइडल सिल्भर फिल्टर वितरण गरिएको अधिकृत शर्माको भनाई छ । ‘विद्यालयमा उपलब्ध गराइएको एउटा क्याण्डलले प्रति घण्टा दुई लिटरका दरले पानी छान्छ । क्याण्डल माटोबाट बनेको हुँदा संवेदनशील भएकोले प्रयोग गर्दा ध्यान दिनुपर्छ । मेलम्चीमा एउटा क्याण्डलको दुई सय पचास रुपैंयाँ हाराहारी पर्छ । तर सफा नभइ सुरक्षित पानी उपलब्ध गराउनका लागि केहि महँगो भए पनि कोलाइडल सिल्भरलाई प्रवद्र्धन गरेका हौं ।’ उनले भने, ‘कोलाइडल सिल्भरले सूक्ष्म जीवाणुहरुको कोषमा हुने रासायनिक प्रक्रिया दरलाई परिवर्तन गरी अक्सिजन प्रयोग गर्ने क्षमतामा ह्रास ल्याउँछ । यसले गर्दा यी जीवहरु अक्सिजनको अभावमा निस्सासिएर मर्छन् ।’

सिन्धुपाल्चोकका भूकम्प प्रभावित विद्यालयको पुननिर्माण परियोजना अन्तर्गत थप ४ वटा विद्यालय तेर्से मावि तालामाराङ, बालसुधार मावि दुवाचौर, सरस्वती मावि ग्याल्थुम र पञ्चकन्या आधारभूत विद्यालय तालामाराङमा युभी आरओ फिल्टर सहयोग गरिएको मञ्चले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार