बस्ती बीचको डम्पिङ साइटले सबैतिर दुर्गन्ध, तिनाउ नदी प्रदूषित

 

रुपन्देही : बुटवल उपमहानगरपालिकाले तिनाउ नदीको बहाव क्षेत्रलाई ‘डम्पिङ साइट’ बनाएको छ। अस्थायी फोहोर फाल्ने स्थान भन्दै अन्तर्राष्ट्रिय मापदण्ड विपरीत नदीकै बहाव क्षेत्रमा फोहोर फालिएको छ। नदीमा फोहोर विर्सजन गर्दा प्रदूषित भएको छ भने छेउछाउका बस्ती दुर्गन्धित छन्। सहरी क्षेत्रमा सरसफाई अभियान चलाइरहेको उपमहानगरले स्थायी फोहोर व्यवस्थापन केन्द्र बनाउन सकेको छैन।

तिनाउ किनारको हात्तीसुढ क्षेत्र अहिले सहरको फोहर थुपार्ने ठाउँ बनेको छ। फोहर थुपारेको ठाउँ वरिपरी बाक्लो बस्ती छ। सुकुमबासी बस्तीमा निम्नवर्ग तथा दलितको बसोबास छ। फोहरको पहाड जस्तो डंगुरले त्यहाँको वातावरणलाई नराम्ररी असर पुर्‍याएको छ। दुर्गन्ध त छँदैछ। त्यसमाथि माखाको उस्तै समस्या भएको हात्तीसुढकी देवकुमारी नेपालीको गुनासो छ।

‘जाडो सुरु हुन लाग्दा केही कम भएको हो, नत्र झिँगाले बस्न सकिन्न’, उनी भन्छिन्, ‘एउटा हातले हम्किने एउटा हातले खाना खाने हो। फोहरबाट निस्केका हरिया झिँगा सिधै भान्छमा आउँछन्।’ झिँगासँगै लामखुट्टेले अझै सताउने गरेको नेपालीले सुनाइन्। यो खबर अन्नपूर्ण पोष्टमा छापिएको छ ।

गर्मी महिनामा भूइभरी र भित्ताभरी झिँगाले ढाकिने गरेको स्थानीय सारदा सुनारको गुनासो छ। ‘हेर्नु त माखाले भित्ता कालै गराएको।’ भित्तातिर देखाउँदै उनले भनिन्, ‘फोहर अन्तै सार्ने हो भने ढुक्कसँग बस्न पाइन्थ्यो।’

झिँगा, लामखुट्टे र दुर्गन्धका कारण देबीनगरको तिनाउ पुलमुनीको बस्ती स्वास्थ्यको ठूलो जोखिममा छ। गर्मी याममा सहन नसक्ने गरी दुर्गन्ध फैलिन्छ। ‘अहिले पनि जेसीभी चलायो भने नाक टालेर बस्नुपर्छ,’ स्थानीय प्रकाश खत्रीले भने, ‘दुर्गन्धका कारण साथीभाइ र पाहुना पनि आउन मान्दैनन्। आएकाले कसरी बसेछौं भनेर सोध्छन्।’ तिनाउको किनारमा फोहर फाल्दै त्यसमाथि कंक्रिट र माटोले पुर्ने गरिन्छ। पुरेका ठाउँमा धमाधम नयाँ घर बनेका छन्।

देवकुमारी नेपालीको घर त्यसरी फोहर पुरेको ठाउँमाथि बनाइएको छ। घर अहिले नै ठाउँ ठाउँमा चर्केको छ। ‘यहाँ मुनी प्लाष्टिक र केराका डाठ्ला फालेर पुरेको ठाउँ रहेछ। त्यसैले घर जताततै चर्केको छ’, उनले भनिन्, ‘अहिले बर्खामा ढल्छ कि भन्ने डर थियो धन्न ढलेन।’ देवकुमारीलगायत आसपासका अन्य घर पनि त्यसरी नै फोहरमाथि बनेका छन्। हात्तीसुढमा फोहर फाल्न थालिएको ३ वर्ष जति भयो। त्यसअघि केही माथि तिनाउ किनारकै पवित्रनगरमा फोहर फाल्ने गरिन्थ्यो। पवित्रनगरमा स्थानीयको विरोध भएपछि हात्तीसुढमा फोहर विसर्जन गर्न थालिएको हो।

पूर्वाधार बनाइदिने सर्तमा त्यहाँ फोहर फाल्न दिएको स्थानीय तेजबहादुर केसीले बताए। ‘बाटो पिच र नदी नियन्त्रणका केही काम त भयो तर जति गर्र्छौं भनेका थिए त्यो भएको छैन’, उनले भने।

हात्तीसुढमा फोहर फाल्दा नजिकका बस्तीलाई समस्या र जोखिम त छँदै त। किनारमा फालेको फोहरले तिनाउ नदी पनि प्रदुषित छ। नदी प्रदूषण हुँदा जलचारलाई क्षति पुग्ने पुगिरहेको छ। नदी र खोला किनारमा फोहर फाल्नु कानुन विपरीत हो। तर बुटवल उपमहानगरपालिकाले फालिरहेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार