भाईटीकाकै दिन अस्पताल सरसफाइ गरे मेयरले

 

दाङ : भाईटीकाको दिन अन्य मानिसहरु रमाइलोमा झुम्मिरहेका बेला तुलसीपुर उपमहागनरपालिकाका मेयर घनश्याम पाण्डे भने राप्ती प्रादेशिक अस्पतालको आँगन सफाइमा व्यस्त हुनुहुन्थ्यो । १६६ औं क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर सरसफाइ अभियान अन्तर्गत मेयर पाण्डेले अस्पतालको परिसरमा झाडु लगाएर सफा गर्नुभएको हो । भाईटीकाको दिन घरमै बसेर सरसफाइ तथा नुहाईधुहाई गर्ने समयमा मेयर पाण्डे लगायत तुलसीपुरका दर्जनौ सामाजिक अभियन्ताहरु अस्पतालको वरपर सरसफाइ गरिरहेका थिए ।

सरसफाइ अभियन्ताहरुले अस्पतालको प्राङ्गनमा रहेका फोहरजन्य, पातपतिङ्गर, प्लाष्टिक सूर्ती, गुट्खा, चाउचाउ, विष्कुटका खोल लगायत फोहोर संकलन गरेर त्यसको व्यवस्थापन गरिएको तुलसीपुर उपमहागनरपालिका सूचना अधिकारी झरेन्द्र खेरलले जानकारी दिनुभयो । सरसफाइ अभियानमा तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजाल, बर्तमान अध्यक्ष बीरबहादुर रावत, पारिवारिक निजी वन महासंघका केन्द्रीय अध्यक्ष जोगराज गिरी, प्रोफेसर मोहन डाँगी, तुलसीपुर उपमहागनरपालिका–६ का वडाध्यक्ष नवराज लामिछाने, लियो क्लब अफ तुलसीपुरका अध्यक्ष ध्रुबराज न्यौपाने लगायतले सरसफाइ अभियान तुलसीपुरको पहिचान भइसकेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

सरसफाइ अभियानमा, पारिवारिक निजी वन महासंघ, तुलसीपुर उद्योग बाणिज्य संघ, जेसिज, लियो क्लब अफ तुलसीपुर, भूतपूर्व प्रहरी संगठन, पूर्व कर्मचारी संगठन, संचार संगठन लगायतको सहभागिता थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार