महिनावारी सम्बन्धी सचेतना फैलाउन पूर्व मिस नेपालहरु एउटै मञ्चमा

 

काठमाडौ : महिनावारी सम्बन्धी सचेतना फैलाउन पूर्व मिस नेपालहरु एकजुट भएका छन् । महिनावारीका बिषयमा सचेतना फैलाउने उद्देश्यले ११ जना पूर्व मिस नेपालहरु एउटै मञ्चमा भेला भएर विभिन्न कार्यक्रमहरु गरेका हुन् । मित्र समाज नामक संस्थाले सञ्चालन गरेको मितिनी अभियान अन्तर्गत भृकुटीमण्डपमा आयोजना गरिएको कार्यक्रममा दुर्गम ठाउँका विद्यालयमा महिनावारी स्वच्छता सम्बन्धी सचेतना फैलाउने, महिलामैत्री शौचालय निर्माण गर्ने र महिनावारी स्वच्छता सम्बन्धी सुविधाहरु उपलब्ध गराउने उद्देश्यले रकम संकलन गरिएको थियो ।

पूर्व मिस नेपाल मल्भिका सुब्बाले उक्त कोषमा चन्दा प्रदान गर्न आग्रह गर्दै व्यक्तिगत सहायता समेत संकलन गर्नुभयो । यस्तै कार्यक्रम स्थलमा राखिएका फुड स्टलहरुमा पूर्व मिस नेपाल सँगै विभिन्न परिकार खान पाइने व्यवस्था आयोजकले मिलाएको थियो ।

हरेक फुड स्टलमा एक जना मिस नेपाल रहने र स्टलमा आउने ग्राहकलाई मिस नेपालले नै सेवा दिने व्यवस्था मिलाईएको थियो । ग्राहकले खानामा खर्च गर्ने रकमको निश्चित प्रतिशत उक्त कोषमा जम्मा हुने मित्र समाजले जनाएको छ । कार्यक्रममा पूर्व मिस नेपालहरुले पालैपालो महिनावारी स्वच्छता व्यवस्थापन सँग सम्बन्धित विभिन्न खेलहरु समेत खेलाउनु भएको थियो ।

कार्यक्रममा पूर्व मिस नेपालहरु उषा खड्गी, मल्भिका सुब्बा, सुगरिका केसी, श्रृंखला खतिवडा, जेनिसा मोक्तान, निखिता चन्द, इसानी श्रेष्ठ, सुविन लिम्बु, इभाना मानन्धर लगायत पूर्व मिस नेपालहरु उपस्थित हुनुहुन्थ्यो । कार्यक्रम अहिले पनि चलिरहेको छ । भृकुटीमण्डपमा भईरहेको कार्यक्रममा पूर्व मिस नेपालहरुसँग विभिन्न परिकारको स्वाद लिने र सेल्फी खिच्नेको भीड लागेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार