ठेक्का दिने परिपाटी सार्वजनिक शौचालयको दुश्मन

 364 पटक हेरिएको

 

काठमाडौ : पानी हुँदैन, सरसफाइ हुँदैन, चुकुल हुँदैन, प्रकाश हुँदैन । फोहोर फ्याँक्ने डस्ट बिन हुने त कुरै भएन । सार्वजनिक शौचालयमा न्यूनतम हुनुपर्ने तर नभएका कुरा खोज्दै जाने हो भने कति निस्कन्छन् कति ?

काठमाडौको सार्वजनिक शौचालयमा जाँदा तपाई हामीले देखे भोगेका साझा समस्या यस्तै हुन्छन् । ‘सफा हुनुपर्ने शौचालय किन फोहोर भयो ? सफा गर्नका लागि आवश्यक पानी किन भएन ? चुकुल र प्रकाशको व्यवस्था हुनुपथ्र्यो किन भएन ?, हामी छैन र भएन मात्र भन्छौं तर नहुनुको कारण गहिरिएर अध्ययन गर्दैनौं ।

सार्वजनिक शौचालयको अवस्था भद्रगोल हुनुमा ठेक्का नीति मुख्य कारण रहेको औल्याईएको छ । काठमाडौ महानगरपालिकाका वडा सदस्यहरुका लागि आयोजना गरिएको ‘फोहोरमैला व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालिम’ मा सार्वजनिक शौचालयको अवस्था र व्यवस्थापन विषयमा सहजीकरण गर्दै सहजकर्ता एवं सार्वजनिक शौचालयको बिषयमा अनुसन्धान गरिरहनुभएका प्रकाश अमात्यले यस्तो तथ्य प्रस्तुत गर्नुभएको हो ।

महानगरपालिकाले शौचालय ठेक्कामा दिने, शौचालयको बहाल कर उठाउने र यसको सदुपयोग सार्वजनिक शौचालयमा नगर्दा यस्तो परिणाम निस्केको उहाँको भनाई थियो । ‘जसले शौचालय सञ्चालन गर्ने ठेक्का पाएको हुन्छ, उसले दिसापिसाब गर्नेबाट उठाएको सेवा शुल्क महानगरपालिकालाई बुझाउने बहाल कर र कर्मचारीको तलबमै ठिक्क हुन्छ, सरसफाइ गर्ने, पानीको व्यवस्था गर्ने, विजुली बत्ती हाल्ने र मर्मत सम्भार गर्ने हो भने घाटामा जान्छ, जसका कारण सार्वजनिक शौचालयहरु फोहोर र अव्यवस्थित भएका हुन्’ उहाँले भन्नुभयो ।

अध्ययन अनुसार एउटा सार्वजनिक शौचालय सञ्चालकले मासिक ४० हजार देखि ४ लाख १५ हज़ार रुपैयाँ सम्म महानगरपालिकालाई बुझाउने गरेको पाईएको उहाँले बताउनुभयो । सार्वजनिक शौचालयलाई ठेक्कामा नलगाउने र संकलित सेवा शुल्कको निश्चित प्रतिशत रकम शौचालयको सरसफाइ र मर्मत सम्भारमा लगानी गर्ने हो भने सार्वजनिक शौचालय सञ्चालनमा देखिएका सबैजसो समस्या हल भएर जाने उहाँको दाबी थियो ।

सार्वजनिक शौचालयलाई व्यवस्थित ढंगले सञ्चालन गर्नकै लागि काठमाडौ महानगरपालिकाले ‘सार्वजनिक शौचालय सञ्चालन सम्बन्धी निर्देशिका’ को मस्यौदा तयार पारेर पेश भईसकेको जानकारी गराउँदै उहाँले यसलाई पारित गर्न वडा सदस्य एवं कार्यपालिका सदस्यहरुले दबाब दिनुपर्ने बताउनुभयो । ‘सार्वजनिक शौचालयलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्छ भनेर पहिलो पटक कार्यदल बनाएर सार्वजनिक शौचालय सञ्चालन सम्बन्धी मस्यौदा निर्माण भएर पनि पेश भईसकेको छ, यसलाई चाँडो भन्दा चाडो पारित गरी कार्यान्वयनमा ल्याउने हात तपाईहरुकै हो’ उहाँले भन्नुभयो ।

वडा सदस्यहरुका लागि आयोजना गरिएको तालिमको पहिलो चरण आज सकिदैछ । पहिलो चरणमा वडा नं. १ देखि १६ सम्मका वडा सदस्यहरु र भोलिदेखि हुने दोस्रो चरणको तालिममा वडा नं. १७ देखि ३२ सम्मका वडा सदस्यहरुको सहभागिता रहने मानव संशाधन विकास महाशाखाकी शाखा अधिकृत सन्तु श्रेष्ठले जानकारी दिनुभयो ।

तालिममा सार्वजनिक शौचालयको अवस्था र व्यवस्थापन, घरेलु फोहोर व्यवस्थापन र वातावरणीय सुधार, सार्वजनिक स्थानमा देखिने धुलो धुँवा र यसको व्यवस्थापन, उत्प्रेरणा तथा नेतृत्व विकास, आकाशेपानी संकलन र यसको प्रयोग, दिसाजन्य लेदो व्यवस्थापन लगायत बिषयमा सामूहिक छलफल गरी निचोड निकाल्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार