काठमाडौ : सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले धादिङ र नुवाकोटको सिमनामा निर्माणाधीन बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साईटको छड्के अनुगमन गर्नुभएको छ । गत शुक्रबार मात्रै काठमाडौै उपत्यकाका सबै नगरपालिकाका प्रतिनिधि सहित बन्चरेडाँडा पुगेर कामलाई तिब्रता दिन निर्देशन दिनुभएका मन्त्री मानन्धरले आज बिहानै छड्के अनुगमन गर्नुभएको हो ।
ठेकेदारले काम रोकेको खबर पाएपछि अनुगमनमा गएको मन्त्री मानन्धरले बताउनुभयो । उहाँले आयोजना सम्पन्न गर्नका लागि बजेटको अभाव नरहेको बताउनुभयो । सहरी विकास तथा भवन निर्माण विभागका अधिकारीहरुले बजेट अभाव नभएको बताएका छन्
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल र आयोजना निर्देशक पदम मैनालीले फागुन पहिलो साताभित्र ल्यान्डफिल साइटको सेल नम्वर एकको निर्माण सम्पन्न गर्ने बताउनुभएको थियो । तर काम रोकिएपछि मन्त्री मानन्धरले स्थानीयसँग पनि छलफललाई तिब्रता दिनु भएको छ ।
प्रधानमन्त्रीले काठमाडौंको फोहोर व्यवस्थापन दिर्घकालिन रुपमा समाधान हुने यो आयोजनालाई तीब्र रुपमा अघि बढाउन निर्देशन दिनुभएको छ । आयोजना प्रमुखहरुले गलत रिपोर्टिङ गर्ने र ठेकेदारले काम रोक्ने दोहोरो चरित्र देखाएपछि मन्त्री मानन्धर रुष्ट हुनुभएको छ ।
आफु मन्त्री भएपछि तीन पटक आयोजनाको अनुगमन गरिसकेको बताउँदै मन्त्री मानन्धरले संघीय राजधानी काठमाडौं र उपत्यकाको फोहोर व्यवस्थापनमा बाधा उत्पन्न गराउनेको नाम सार्वजनिक गर्ने बताउनुभयो ।
मन्त्री मानन्धरले बन्चरेडाँडामा निर्माणाधीन ल्याण्डफिल्ड साइटको पहिलो फेज फागुन भित्र निर्माण सम्पन्न हुने बताउनुभयो । स्थानीयका जायज माग सबै पुरा हुने भन्दै मन्त्री मानन्धरले निर्माणको काम कोही कसैले गर्न नहुने बताउनुभयो ।