पानी परियोजनाको सहयोगमा वातावरण अनुकुल सडक निर्माण निर्देशिका

 

बझाङ : बझाङका चार वटा स्थानीय तहले वातावरण अनुकुल ग्रामीण सडक निर्माण गर्न निर्देशिका तयार पारेका छन् । जथाभावी डोजर चलाएर सडक निर्माण गर्दा खानेपानीको स्रोत सुक्ने, वनजंगल विनास हुने र पहिरो जाने कारणले ठुलो आर्थिक तथा वातावरणीय क्षति बढ्न थालेपछि वातावरण अनुकुल सडक निर्माण गर्न निर्देशिका निर्माण गरिएको हो ।

सडक खनेको ठाउँमा माटो बग्न नदिनका लागि बाँस, अम्रिसो तथा माटो अड्याउने खालका फलफुल र जडिबुटीका विरुवा रोपेर आयआर्जन बढाउने गतिविधीहरू सञ्चालन गर्ने गरी योजना बनाइने छन ।

जयपृथ्वी नगरपालिका, तल्कोट, छविस पाथीभेरा र थलारा गाउँपालिकाले निर्देशिका तयार पारेका हुन् । पानी परियोजनाको आर्थिक सहयोगमा चार वटै स्थानिय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, प्राविधिक र वातावरण समितिका पदाधिकारीको संयुक्त कार्यशालाले दुइ दिनसम्म दफावार छलफल गरेपछि निर्देशिकालाई अन्तिम रुप दिइएको हो ।

निर्देशिकामा पानीका मुहान, बस्ती क्षेत्र, वनजंगल, ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थानहरू भएका ठाउँमा सडक निर्माण गर्दा त्यसका सकारात्मक र नकारात्मक पक्षको विषयमा विस्तृत अध्ययन र व्यापक छलफल गरिसकेपछि मात्र सडक निर्माणको कार्य अघि वढाउनु पर्ने व्यवस्था गरिएको छ । यस्तै निर्माण गर्नु पुर्व वातावरणमैत्री सडक निर्माणका लागि उपभोक्तालाई स्पष्ट अभिमुखिकरण गर्ने, सडक योजना वातावरण मैत्री भए नभएको वारेमा नियमित आन्तरिक र विज्ञहरू सम्मिलित तेस्रो पक्षको समेत अनुगमन गरिसकेपछि मात्र अन्तिम भुक्तानी दिने प्रावधान राखिएको छ ।

यी चार स्थानीय तहले अव बन्ने प्रत्येक सडकमा प्राविधिक अध्ययन सहित वातावरणीय जोखिम र यसको न्युनीकरणको योजना तयार गरिसके पछि मात्र सडक निर्माणको काम थालिनेछ । यस अघि वातावरणीय र प्राविधिक अध्ययन विनै सडक निर्माण गर्दा खानेपानीको मुहान सुक्ने, भुक्षय हुने भएपछि निर्देशिकामा यस्तो प्रावधान राखिएको जयपृथ्वी नगरपालिकाका प्रमुख वीरेन्द्रबहादुर खड्काले बताउनुभयो ।

अव बन्ने सडक पहिरो ल्याउने र जनताको उठिवास लगाउने खालका नभई उनीहरूको आयआर्जनलाई थप टेवा दिने खालको हुने थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताउनुभयो । उहाँका अनुसार प्रत्येक सडक, अव हरित सडक हुनेछन । सडक खनेको ठाउँमा माटो बग्न नदिनका लागि बाँस, अम्रिसो तथा माटो अड्याउने खालका फलफुल र जडिबुटीका विरुवा रोपेर आयआर्जन बढाउने गतिविधीहरू सञ्चालन गर्ने गरी योजना बनाइने छन ।

उहाँले सडकको निश्चित खण्डमा लगाइएका विरुवाहरूको संरक्षण र उपयोग गर्नका लागि स्थानीय समुदायलाई नै जिम्मेवारी दिने गरी निर्देशिकामा व्यवस्था गरिएको बताउनुभयो ।

नागरिकको पुर्ण सहभागितामा स्थानीय स्तरमा वातावरणमैत्री तथा दिगो सडक डिजाईन तथा निर्माण सुनिश्चित गर्नका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारले व्यवस्था गरेका प्रचलित नीति नियमलाई थप सरलीकरण गरेर निर्देशिका तयार गरिएको वातावरणमैत्री पुर्वाधारविद सन्तोष पन्थीले बताउनुभयो।

ग्रामीण सडक निर्माणका  ईन्जिनियरिङ्ग र वातावरणीय पक्षलाई एकीकृत गरी दीगो तथा जलवायू समानुकूलित सडक निर्माण गर्ने तथा जैविक विविधतालाई असर नपार्ने खालको सडक बनाउने सरल उपायहरू निर्देशिकामा समेटिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार