काठमाडौ : काठमाडौ उपत्यकामा खानेपानी वितरण भईरहेका पुराना पाइपहरू ननिकाली जमिनमुनि नै राखिने भएको छ । मेलम्चीको पानी वितरण गर्न आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ संंरचना तयार पारे पनि पुराना पाइप ननिकाल्ने भएको हो । सय वर्षभन्दा पुराना पाइप पुनः प्रयोगमा आउन सक्ने सम्भावना कम रहेको, ती पाइप निकाल्दा खर्च लाग्ने र सडक समेत भत्कने भएकाले त्यत्तिकै छाडिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । काठमाडौ उपत्यका खानेपानी लिमिटेडले हाल राणाकालीन समयमा बिछ्याएका पाइप मार्फत खानेपानी वितरण गरिरहेको छ । प्रमुख कार्यकारी अधिकृत शाक्यले हालका लागि पुरानै पाइपबाट पानी वितरण भए पनि आगामी वर्षबाट निर्देशनालयले निर्माण गरेकै पाइपबाट पानी वितरण गरिने बताउनुभयो ।
निर्देशनालयले हाल निर्माण गरिरहेका संरचना सम्पन्न भएपछि केयुकेएललाई नै हस्तान्तरण गर्नेछ । केयुकेएलले हाल वितरण गरिरहेको पानी र मेलम्चीबाट थप हुने पानी वितरणका लागि आवश्यक तयारी गरिरहेको छ । हाल निर्देशनालयले बिच्छ्याएका पाइपमा उपत्यकाकै स्रोतबाट पानी हालेर परीक्षण भइरहेको छ । मेलम्चीकै पानी हालेर परीक्षण गर्न भने बाँकी रहेको उहाँले बताउनुभयो । “निर्देशनालयले मेलम्चीको पानी हालेर पाइपको अवस्था, चुहावट लगायतका बारेमा बुुझिनेछ ।” उहाँले भन्नुभयो ।
पहिलो चरणमा मेलम्चीबाट आउने झण्डै १७ करोड लिटर र उपत्यकामा हाल केयुकेएलले वितरण गरिरहेको झण्डै पाँच करोड लिटर गरी नयाँ बनेका पाइपबाट दैनिक झण्डै २२ देखि २४ करोड लिटर पानी वितरण हुनेछ । मेलम्ची खानेपानी विकास समितिले अस्थायी ड्याम बनाएर भएपनि चालु आर्थिक बर्ष भित्रै मेलम्चीको पानी काठमाडौ ल्याईसक्ने बाचा गरिसकेको छ । मेलम्ची खानेपानी विकास समितिले तयार पारेको स्वेत पत्र जारी गर्दै खानेपानीमन्त्री बिना मगरले यही असार मसान्तभित्र खानेपानी काठमाडौ ल्याईसक्ने दाबी गर्नुभएको थियो ।