काठमाडौ : ‘नगरपालिकाहरुको फोहोरमैला व्यवस्थापन फाँटमा २ वटा ट्याक्टर छन्, ३ वटा चक्का पङ्चर भईसकेका छन् । रिक्सा ४ वटा छन् तर टायरमा हावै छैन । फोहोरमैला हेर्ने सेक्सन कतै संस्कृत पढ्ने विद्वानको नेतृत्वमा छन् भने कतै अर्थशास्त्र पढ्नेको अगुवाईमा । कतै – कतै भने लेखा फाँटले हेरिरहेका छन् ।’
के देशभरका नयाँ तथा पुराना नगरपालिकाहरुको फोहोरमैला व्यवस्थापनको हालत यस्तै छ ? फोहोरमैला व्यवस्थापन विज्ञ सूर्यमान शाक्य भने अझ यो भन्दा पनि नाजुक देख्नुहुन्छ । उहाँको भनाइमा काठमाडौ विश्वविद्यालयबाट बार्षिक ४०/५० जना वातावरण इञ्जिनियर उत्पादन भएपनि देशभरिका नगरपालिकाहरुमा कतै जागिर नै पाउँदैनन् । किनकि त्यहाँको वातावरण शाखा संस्कृत पढेका विद्धानहरु, अर्थशास्त्र पढेका विद्धानहरुले ओगटिरहेका छन् ।
उहाँ प्रश्न गर्दै भन्नुहुन्छ ‘जब फोहोरमैला व्यवस्थापन गर्ने शाखामा वातावरण इन्जिनियरहरु हुँदैनन् कसरी हुन्छ फोहोरमैला व्यवस्थापन ?’
संघीय सरकारले पर्याप्त बजेट विनियोजन नगर्नु नगरपालिकाहरुलाई फोहोरमैला व्यवस्थापनको बिषयमा प्रविधि सम्बन्धी जानकारी गराउन स्थापना भएको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र पनि खारेज हुनु, नगरपालिकाहरुमा फोहोरमैला व्यवस्थापन गर्न स्रोत साधनको अभाव हुनु, दक्ष जनशक्ति नहुनु, फोहोरमैला व्यवस्थापन गर्ने क्षेत्रमा प्राविधिक जनशक्तिको अभाव रहनु लगायत कारणले फोहोरमैला व्यवस्थापन पक्ष भविश्यमा अझ जटिल बन्दै जाने उहाँको ठम्याइ छ ।
फोहोरमैला व्यवस्थापनको क्षेत्रमा संघीय सरकारको ठूलो लगानी आवश्यक पर्ने उहाँको भनाइ छ । ‘फोहोरमैला व्यवस्थापन विकराल समस्याको रुपमा देखापर्दैछ । यसको जग बनेको छैन । रेलको, पानी जहाजको लागि पनि बजेट विनियोजन हुन्छ तर फोहोरमैला व्यवस्थापनको लागि एक रुपैयाँ पनि विनियोजन हुँदैन । निजी क्षेत्रको प्रयासले मात्र केही हुनेवाला छैन ।’ शाक्य भन्नुहुन्छ ‘केन्द्रीय सरकारको प्रयास बिना स्थानीय तहको पहलले मात्र केही गर्न सक्दैन । यहाँ नीतिगत, आर्थिक एवं संस्थागत समस्या विद्यामान छ । यसका लागि संघीय सरकारले सहयोग गर्नैपर्छ ।’
थप कुरा हेरौं, यो भिडियोमा
गत बर्ष काठमाडौको बसन्तपुरमा आयोजित ‘वास मेला’ मा गरिएको छलफल कार्यक्रमको प्रमुख अंश । राष्ट्रिय सरसफाइ सप्ताह तथा विश्व वातावरण दिवसको अवसरमा नेपाल नगरपालिका संघ, वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) लगायत संघसंस्थाले नेपालमा पहिलो पटक मेला आयोजना गरिएको थियो ।