लकडाउनका कारण उद्योग बन्द हुँदा तीनवटै खोला अहिले स्वच्छ देखिएका छन्। यसले खोला किनारामा बस्नेहरुलाई खानेपानी, लुगा धुन, नुहाउन र सिँचाइका लागि सहज भएको छ।
ललितपुर : कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको एक महिना भन्दा बढी भईसकेको छ । लकडाउनका कारण ललितपुरको दक्षिणी भेगमा सञ्चालित खानी तथा क्रसर उद्योगहरु पनि बन्द छन्। यसैका कारण अहिले ललितपुरको नल्लु खोलामा स्वच्छ पानी बग्न थालेको छ । पात नै छोपिने गरी धुलाम्मे हुने रुख बिरुवा हरिया देखिएका छन् । आकाश खुलेको छ । चराचुरुंगीको चिरविर आवाजले वातावरण सुमुधर बनेको छ ।
यसअघि व्यवसायीले खानी तथा क्रसर उद्योग जथाभावी चलाउँदा लेले तथा नल्लु क्षेत्रको वातावरण लामो समयदेखि धुवाँधुलो र अत्यधिक ध्वनी प्रदुषणका कारण अस्तव्यस्त थियो। स्थानीयका अनुसार तीन दशकपछि नल्लु खोला पहिलोपटक सङ्लो देखिएको हो । खानी क्षेत्र टिकाभैरवबाट सुरु हुन्छ। टिकाभैरव मन्दिर नजिकै उत्तर–पश्चिम भेगमा क्रसर उद्योग छ। त्यहाँबाट दुई सय मिटरको दुरीमा अरु क्रसर उद्योगहरु छन्।
यहाँका बासिन्दा उद्योगबाट निस्कने चर्को आवाज र धुवाँधुलो सहन बाध्य छन्। ती उद्योग बन्द रहँदा अहिले क्षणिक भए पनि वरपरका बासिन्दालाई राहत मिलेको छ। बुरुन्चुली र टिकाभैरव क्षेत्रमा सञ्चालित खानी तथा क्रसर उद्योगबाट निस्कने फोहोर बुरुन्चुली र नख्खु खोलामा मिसाइँदै आएको छ।
लेले क्षेत्रमा सञ्चालित उद्योगबाट निस्कने फोहोर भने महादेव खोला मिसाइन्छ। लकडाउनका कारण उद्योग बन्द हुँदा तीनवटै खोला अहिले स्वच्छ देखिएका छन्। यसले खोला किनारामा बस्नेहरुलाई खानेपानी, लुगा धुन, नुहाउन र सिँचाइका लागि सहज भएको छ।