बञ्चरेडाँडा ल्याण्डफिल साइटको अवलोकन

काठमाडौं : धादिङ र नुवाकोट जिल्लाको सिमाना बञ्चरेडाँडामा निर्माण भइरहेको ल्याण्डफिल साईटको अनुगमन गरिएको छ । सहरी बिकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, सहरी बिकास तथा भवन निर्माण बिभागमा महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशकहरु पदम मैनाली, चक्रबर्ती कण्ठ र रामचन्द्र दंगाल, सडक बिभागका डिभिजन इञ्जिनियर कुवेर नेपाली सहितको टोलीले ल्याण्डफिल साईटको अनुगमन गरिएको हो ।

अबलोकनका क्रममा अहिले फोहोर व्यवस्थापन हुँदै आएको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल साइटको अवस्था, साइटको पोष्ट क्लोजर योजना, ओखरपौवाबाट बञ्चरे पुग्ने सडक स्तरउन्नतिको अवस्था, बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा भइरहेको पूर्वाधारको कामका बिषयमा जानकारी लिइएको थियो । त्यसै गरी लकडाउनका समयमा निर्माण कार्यलाई सुचारु गर्न आवश्यक पर्ने सामाग्रीको उपलब्धता र ढुवानी जस्ता काममा परेको अफ्ठ्यारोलाई सहज बनाउन मन्त्रालय र महानगरले सहजीकरण गर्ने बिषयमा पनि कुराकानी भएको थियो ।

अवलोकनपछि सहरी बिकास सचिव मधुसुदन अधिकारीले यो आर्थिक बर्षको अन्तिमसम्ममा बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य थालनी गर्ने गरी पूर्वाधार निर्माणको काम भइरहेको बताउनुभयो । उहाँले ठेकेदारलाई समेत यसै अनुसार काम गर्न निर्देशन दिईएको बताउनुभयो । यस्तै महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले बञ्चरे डाँडामा फोहोर व्यवस्थापन थाल्नु र सिसडोल ल्याण्डफिल साइटको पोष्ट क्लोजर गर्नुलाई बिशेष महत्व दिएको बताउनुभयो । ‘फोहोर व्यवस्थापनसँग सम्बन्धित कामबाट कसैले पनि प्रभावित हुन नपरोस् । यसका आर्थिक, सामाजिक तथा वातावरणीय पक्षलाई सन्तुलित रुपमा व्यवस्थापन गर्ने प्रयासमा छौं ।’ उहाँले भन्नुभयो ।

बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ बैशाख २२ गते एक बर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी/कोशी एण्ड न्यौपाने जेभि (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । भ्याटबाहेक ३४ करोड ६८ लाख ७४ हजार ८९५ रुपैयाँमा गरिएको सम्झौता भएपछि कोशी एण्ड न्पौपानेको स्वामित्व परिवर्तन भयो । यही कारण क्लालिटी एस्युरेन्स प्लान (क्युएपि) र मोबिलाइजेसन वापत ठेक्केदारलाई दिएको पेश्की रकम ६ करोड ८० लाख रुपैयाँको विवरण बुझाउन सकेन । समस्या यहीँबाट शुरु भएको थियो । २०७६ पुष २२ गते ठेक्केदारले परिवर्तित कार्य तालिका पेश गर्‍यो । तर, पेश गरेको तालिका अनुसार काम हुन सकेन ।

यसरी निर्माण पक्षबाट समयमा काम नभएपछि ल्याण्डफिल साइट निर्माण कहिले सम्पन्न हुने भन्नेमा अधिकारीहरुमाथि चिन्ता छ । फोहोर व्यवस्थापन गर्न सिसडोल क्षेत्रमा सार्वजनिक र अधिग्रहण गरिएको सहित ४७२ रोपनी र बञ्चरे डाँडामा १ हजार ७९२ रोपनी जग्गा छ ।

२०६२ साल जेठ २२ गते अर्थात सन् २००५ जुन ५ तारिख विश्व वातावरण दिवसका दिनबाट काठमाडौं उपत्यकामा उत्पादन भएको घरेलु फोहोर संकलन तथा ढुवानी गरेर नुवाकोट जिल्लाको ककनी गाउँपालिकाको ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको हो । ओखरपौवाको क्षमता सकिएपछि आलेटारमा फोहोर व्यवस्थापन गरियो । आलेटारको पनि क्षमता सकिएपछि सिसडोल ल्याण्डफिल साइटकै क्षमता बढाएर फोहोर व्यवस्थापन गरिँदै आएको छ । काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार