भूमिगत पानी रिचार्ज गर्न पुनर्भरण खाल्डो, यसरी बनाउनुहोस्

काठमाडौ : क्रंक्रिटको पक्की घर तथा भवनले जमिन ओगट्दा भुमिगत पानीको स्रोत सुक्दै गएको छ भने सतहमा बाढी, भूकटान जस्ता विपत्ति आउने क्रम बढ्दो छ । यही अवस्थालाई मध्यनजर गरी देशका विभिन्न नगरपालिकाले नयाँ घर बनाउँदा भूमिगत पानी रिचार्जका लागि रिचार्ज पिट (पुनर्भरण खाल्डो) अनिवार्य बनाउनुपर्ने नीति समेत अवलम्बन गरेको छ ।

तीब्र शहरीकरण भइरहेको ठाउँहरु क्रंक्रिटका घर एवं भौतिक संरचनाहरुले ओगट्दा बर्षातको पानी जमिन मुनि जान पाउँदैन । आकाशबाट परेको पानी जमिनमुनि जान नपाएपछि सीधै ड्रेन मार्फत खोलामा पुग्छ र त्यसले बाढीको रुप लिन्छ । बाढीले गर्दा घर, जग्गा बगाउने एवं कटान गर्ने जस्ता विपत्ति निम्त्याउने गरेको छ । तर यसलाई व्यवस्थित तरिकाले अण्डर ग्राउण्ड वाटर रिचार्ज पिट (भूमिगत पानी पुनर्भरण खाल्डो) बनाउने हो भने आकाशबाट परेको पानी जमिनको सतहमा छिर्न मद्दत पुग्छ । यसले गर्दा बाढी, घर जग्गा बगाउने, नदी कटान रोक्ने मात्र नभई जमिनमुनिको पानीको सतह घट्न दिदैन र यसले पर्यावरणीय सन्तुलन हुने वातावरणविदहरु बताउँछन् ।

जमिनमुनिको पानी पुनर्भरण हुन नपाउँदा क्रंक्रिटले जमिन मुनि पानी सोसिन नदिई पानीको स्रोत रित्याउने र जमिनको तापक्रम पनि बढाउने वातावरणविदहरु बताउँछन् । ‘नयाँ घरले अण्डर ग्राउण्ड वाटर रिचार्ज पिट (पुर्नभरण खाल्डो) अनिवार्य बनाए यसले जमिनमुनिको पानीको स्रोत सुक्न दिदैन । रिचार्ज पिटमार्फत बर्षातको पानी, घरमा प्रयोग गरिएको पानी जमिन मुनि जाँदा रुखविरुवा हराभरा भइरहन्छ । पानीको स्रोत, ढुंगे धारा, कुवा पनि सुक्न नपाउने काठमाडौ महानगरपालिकाकी वातावरण इन्जिनियर निसा दाहालले बताउनुभयो ।

जमिन मुनिको पानी बोरिङ गरेर नगरबासीलाई वितरण गर्ने जुनसुकै सहरमा जमिनमुनिको पानी रिचार्ज गर्नुपर्ने इन्जिनियर कोइरालाले बताउनुभयो । रिचार्ज नगरे भुमिगत पानीको स्रोत सुक्ने उहाँको भनाइ छ । उहाँका अनुसार पानी जमिन मुनि जाँदा चिस्यान बढेर बोटविरुवा हराभरा हुने र भुई चिसो भएर अहिले जस्तो तापक्रम पनि बढ्न पाउँदैन ।

पुनर्भरण खाल्डो (रिचार्ज पिट) बनाउने तरिका

वर्षाको पानी वा घरमा उपभोग भएको पानीलाई जमिनमुनि सोसिन दिएर भूमिगत जलभण्डार पुनर्भरण (रिचार्ज) गर्न खाल्डो खनिने विधिलाई रिचार्ज पिट भनिएको हो । पुनर्भरण खाल्डो (रिचार्ज पिट) बनाउँदा घरको जग भन्दा २ मिटर टाढा बनाउनुपर्छ । पिटको लागि २ मिटर गहिरो खाल्डो खन्नुपर्छ भने १ मिटर लम्बाई र १ मिटर चौडाई हुनुपर्छ । करिब २ क्युबिक मिटर आयतन रहने खाल्डोमा १ हजार वर्गफिट क्षेत्रफलसम्म भएको घरको छतको पानी हाल्न सकिने प्राविधिकहरु बताउँछन् । छतको क्षेत्रफल बढेसँगै पिटको पनि लम्बाई र चौडाई बढाउनुपर्छ ।

खाल्डो खनिसकेपछि भुईमा ढुंगा, ग्रावेल (गिटी), मोटो वालुवा क्रमशः मुनिबाट राख्दै आउनुपर्छ । त्यसमाथि जमिनको सतहसम्म इटाको पर्खाल लगाउने र भित्रबाट प्लास्टर गर्नुपर्ने वातावरण इञ्जिनियरहरु बताउँछन्। त्यसपछि छतको पानीलाई पाइपको माध्यमबाट रिचार्ज पिटमा पुर्‍याएर ढकनी लगाउनुपर्छ । यो पुनर्भरण संरचनामा प्रदुषित पानी जान नदिंदा राम्रो हुन्छ । बर्षा लाग्नुभन्दा पहिला सफा गरे सहज रुपमा पानी जमिन मुनि पुग्ने प्राविधिकहरु बताउँछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार