ललितपुर महानगरपालिकाले पार्क निर्माण गर्ने

ललितपुर : ललितपुर महानगरपालिकाले विभिन्न स्थानमा पार्क निर्माणको कामलाई तीव्रता दिएको छ । महानगरपालिकाले हरियाली र पानीजन्य योजना (ग्रीन एण्ड ब्लू प्रोजेक्ट) अन्तर्गत ललितपुरको विभिन्न स्थानमा पार्क निमार्णको कामलाई तीव्रता दिएको हो । सोही योजना अन्तर्गत महानगरपालिकाले जावलाखेल डबलिमा पार्क निमार्ण गर्न लागेको हो ।

महानगरपालिकाका मेयर चिरिबाबु महर्जन एक कार्यक्रम बीच उक्त पार्कको शिलान्यास गर्नुभयो। ठेकेदार कम्पनी केबी कन्स्ट्रक्सनले ९४ लाख ६१ हजार ४ सय ८४ रुपैयाँमा निमार्ण गर्न लागेको ‘जावलाखेल पार्क’ बालमैत्री र अपाङ्गमैत्रीका साथै जेष्ठ नागरिकमैत्री समेत हुनेछ । पार्कको शिलान्यास गर्दै महानगरपालिकाका मेयर महर्जनले भोटेजात्रा भन्दा अघि नै पार्क निर्माण गर्न निर्देशन दिनुभयो। उहाँले पार्क निर्माण गर्दा गुणस्तरका साथै समय सीमालाई समेत ध्यान दिन आग्रह गर्दै भोटो देखाउने दिन पार्कको दक्षिण क्षेत्रमा जेष्ठ नागरिकलाई लस्करै राखेर भोटो देखाउने योजना रहेको बताउनुभयो । सो दिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई जेष्ठ नागरिकहरुसँग परिचय गराउने योजना महानगरपालिकाको छ ।

जावलाखेल डबलिमा पार्क निर्माण गर्न जेठ २३ गते सम्झौता भएको थियो । भदौ २५ गतेसम्म निर्माण सम्पन्न गर्ने कार्य तालिका छ । महानगरपालिकाका मेयर महर्जनले ग्रीन एण्ड ब्लू प्रोजेक्ट अन्तर्गत ललितपुरको विभिन्न स्थानमा पार्क निर्माणको काम भइरहेको जानकारी दिनुभयो । उहाँले यसभन्दा अगाडि करिब ४ स्थानमा पार्क निर्माण भइसकेको जानकारी दिनुभयो। उहाँले निकट भविष्यमै अन्य स्थानमा समेत निर्माण गर्न लागेको जानकारी दिनुभयो।

महानगरपालिकाले ललितपुर शहरलाई वातावरण सुधार, सार्वजनिक जग्गाको संरक्षण र सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएको छ भने सडकका विभिन्न स्थानलाई साइकलमैत्री बनाउन साइकल लेन समेत विस्तार गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार