वागमती सफाइलाई प्रभावकारी बनाउन ‘वागमती ऐन’ बन्दै, भएकै ऐनलाई कार्यान्वयन गर्नुपर्नेमा अभियन्ताको जोड

 189 पटक हेरिएको

♦ १० लाख बढीको सहभगिता  ♦ २० हजार मेट्रिक टन फोहोर व्यवस्थापन  ♦ ६ हजार भन्दा बढी वृक्षरोपण

काठमाडौ : वागमती सफाइलाई अझ प्रभावकारी बनाउन वागमती ऐन ल्याईने भएको छ । वागमती सफाइ महाअभियानले ४०० औं हप्ता पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा सहरी विकास सचिव डा. रमेश प्रसाद सिंहले वागमती ऐनको मस्यौदा तयार भईसकेको बताउनुभयो । उहाँले वागमती ऐनलाई संसदको हिउँदे अधिवेशनबाटै पारित गराउने मन्त्रालयको योजना भएपनि संसद विघटनका कारण त्यो पूरा नभएको बताउनुभयो ।

वागमती ऐन स्वीकृतिका लागि आगामी संसद अधिवेशनमा लैजाने र वागमती ऐन आएपछि वागमती सफाइ अभियान झनै प्रभावकारी हुने उहाँले बताउनुभयो । तर वागमती सफाइ अभियन्ताहरुले भने वागमतीका लागि छुट्टै ऐन ल्याउनु भन्दा भएकै ऐनको प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिएका छन् । वागमती सफाइ महाअभियानका मुख्य अभियन्ता एवं पूर्व मुख्यसचिव लीलामणि पौड्यालले पुरानै ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । फोहोरमैला व्यवस्थापन ऐन २०६८ ले कसुरको प्रकृति हेरी ५ हजार रुपैयाँ जरिवाना देखि ३ महिना कैद सजायसम्मको व्यवस्था गरेको छ ।

वागमती सरसफाइ महाअभियानको ४ सयौं हप्तासम्म आईपुग्दा १० लाख भन्दा बढीको सहभगितामा २० हजार मेट्रिक टन फोहोर व्यवस्थापन भएको र ६ हजार भन्दा बढी विरुवा रोपिएको वागमती सफाइ महाअभियानले जनाएको छ ।

२०७० साल जेठ ५ गते शनिबार तत्कालीन मुख्यमन्त्री लीलामणि पौड्यालको नेतृत्वमा सुरु भएको वागमती सफाइ महाअभियानले ४ सय हप्ता पूरा गरेको हो । यही अभियानको प्रेरणाबाट देशभर करिब सय भन्दा बढी नदीहरुमा सरसफाइ अभियान सञ्चालन भईरहेका छन् ।

हेरौं यो भिडियो : 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार