मुगु : खोलाको धमिलो पानी बोकेर पिउँदै आउनुभएकी छायाँनाथ रारा नगरपालिका वडा नं ८ की ईश्वर रावल घर आँगनमै भाँडा माझिरहेको अवस्थामा भेटिनुभयो । पानी बोक्दा बोक्दा वाक्क भईसक्नुभएकी रावलको मुहार खुसीले भरिएको थियो । ‘खानेपानी बोक्नु नपर्दा जिन्दगीकै भारी बिसाए जस्तै हलुङ्गो भयो’ ओठमा मुस्कान लिएर भाँडा माझिरहनुभएकी रावलले खुसी साट्नुभयो ।
उहाँले आँगनमै पानी आउन थालेपछि खोलाको धमिलो पानी पिउनुपर्ने बाध्यताको अन्त्य भएको र सरसफाइ गर्न समेत सजिलो भएको बताउनुभयो । यूनिसेफ नेपालको आर्थिक सहयोग तथा छा—याँ नेपालको प्राविधिक सहयोगमा घरघरै धारा निर्माण भएपछि पुस्तौ देखि खोलाको पानी पिउँदै आएका छाँयानाथ रारा नगरपालिका – ८ झ्यारी गाउँको खानेपानीको दुःखको अन्त्य भएको हो ।
यूनिसेफ नेपालको आर्थिक सहयोग तथा छा—याँ नेपालको प्राविधिक सहयोगमा सञ्चालित विद्यालयमा अपाङ्गता समावेशी खानेपानी सरसफाइ तथा स्वच्छता र सुरक्षित खानेपानी समुदाय विकास प्राविधिक सहयोग परियोजना अन्तर्गत झ्यारीको १ सय २८ घरमै धारा निर्माण गरी सुरक्षित पानी वितरण गरिएको हो ।
खानेपानी निर्माणका लागि युनिसेफले १६ लाख ६६ हजार १०८ रुपैयाँ ५६ पैसा र गाउँलेले ३ लाख ९८ हजार ५८९ रुपैयाँ ८५ पैसा बराबरको श्रमदान गरी २० लाख ६४ हजार ६९५ रुपैयाँ ४१ पैसा लगानी गरेका छन् ।
घरघरै धारा निर्माण भई सुरक्षित खानेपानी उपभोग गर्न पाएपछि स्थानीयबासी हर्षित भएका छन । सुरक्षित खानेपानी उपलब्ध भएपछि विशेष गरी गृहिणी तथा बालबालिकालाई सहज भएको स्थानीय तार सिंह रावलले बताउनुभयो । उहाँले समयको बचत हँुदा बिहान र बेलुका पानी लिन जाने आउने समयमा बालबालिकाले अध्ययन गर्न पाएको बताउनुभयो ।
पानीको सुरक्षित स्रोत नहँुदा सोही खोलामा नुहाउने तथा लुगा धुने बाध्यताले झयारी बासिन्दा दुषित पानी पिउन बाध्य थिए । दुषित पानीकै कारण झाडापखाला, आउ, हैजा तथा टाइफाइड जस्ता बिरामी हुनुका साथै कतिले अकालमै ज्यान समेत गुमाउनु परेको छायाँनाथ रारा नगरपालिका वडा नं ८ का अध्यक्ष कर्ण बहादुर रावलले बताउनुभयो । उहाँले सरकारको नीति अनुसार एक घर एक धारा निर्माण गरी सुरक्षित खानेपानी उपलब्ध गराउने कार्यमा वडा कार्यालयले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।