दशैंमा घर जाँदै हुनुहुन्छ ? कतै कोरोनाले पछ्याईरहेको छ कि ? यसका लागि मास्क लगाउनुहोस् मास्क

काठमाडौं : दशैं, तिहार, छठ लगायत पर्वहरु नजिकिँदो छ । आफ्नो पेशा, व्यवसाय र व्यवहारिक कामले घरदेखि टाढा रहेकाहरु पनि चाडपर्व मनाउन धमाधम घर फर्कदैछन् । अघिल्लो बर्ष भन्दा कोरोनाको संक्रमण केही हदसम्म मत्थर भएको अवस्था पनि छ ।

पोहोर साल पनि राम्रो सँग मनाउन नपाएको दशैं यसपाली त राम्रै सँग मनाउँला भन्ने होला कतिपयको योजना । तर दशैंमा मान्यजनबाट टीका र आशिर्वाद थाप्न जाँदा आफू सँगसँगै कोरोना पनि जाँदैछ कि ? यसबारे कत्तिको ख्याल गर्नुभएको छ ?

अवश्य पनि, तपाईले मास्कको सही प्रयोग गर्नुभएको छैन भने घर जाँदा कोरोना पनि तपाईसँग जाने सम्भावना धेरै छ । तर तपाईले मास्कको सही तरिकाले प्रयोग गर्नुभएको छ, बेला बेलामा साबुन पानीले हात धुनु भएको छ र भीडभाडमा जानु भएको छैन भने तपाईले यसबर्ष मात्र होइन, आफ्नो मान्यजनको हातबाट बर्षौ बर्ष टीका लगाएर आशिर्वाद थाप्न पाउनुहुनेछ ।

यिनै अवस्थालाई मध्यनजर गरी नेपाल मास्क : कोभिड-१९ प्रतिकार्य परियोजनाले काठमाडौको कोटेश्वर, कलंकी र नयाँ बसपार्क गोंगबुमा मास्कको प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिरहेको छ । सोमबार देखि सुरु गरिएको यो कार्यक्रम बुधबारसम्म जारी रहनेछ ।

दशैंमा धेरै मानिसहरु राजधानीबाट बाहिरिने र मास्कको सही प्रयोग नगर्दा कोरोना संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गरी कोरोना रोकथामका लागि मास्कको महत्वबारे जानकारी गराउन सचेतनामूलक कार्यक्रम गरिएको वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) का सिनियर वास अफिसर सिर्जना कार्कीले बताउनुभयो ।

सचेतनामूलक कार्यक्रम अन्तर्गत माईकिङ गर्ने, प्लेकार्ड प्रदर्शन गर्ने, मास्क नलगाई हिडेकाहरुलाई मास्क वितरण गरी मास्क लगाउने तरिकाबारे बताउने, सही तरिकाले मास्क लगाउनेहरुलाई धन्यबाद दिने, कोरोना रोकथाम सँग सम्बन्धित गीत तथा सचेतनामूलक सामग्री बजाउने लगायत क्रियाकलाप गरिएको Covid 19 Rapid Action Taskforce (C-19 RAT) का संयोजक उदित तिमल्सिनाले बताउनुभयो ।

‘हामीसँग मास्क लगाऔं, भौतिक दुरी कायम गरौं, स्यानिटाईजर प्रयोग गरौं जस्ता सन्देशमूलक अडियोहरु छन्, यसलाई बजाएर हामीले कोरोना विरुद्ध सचेतना फैलाईरहेका हुन्छौं, हामीसँग कोरोनाको मस्कट छन्, उक्त मस्कट लगाएपछि मानिसहरुको ध्यान तान्न सजिलो हुन्छ । अनि कोरोनाको मस्कटद्वारा नै प्लेकार्ड देखाउने, राम्रो सँग मास्क लगाएकाहरुलाई धन्यबाद एवं नमस्कार गर्ने, नलगाएकाहरुलाई मास्क वितरण गरी लगाउने तरिका पनि बताईरहेका छौं’ संयोजक तिमल्सिनाले भन्नुभयो ।

मास्कको प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रमबाट बटुवा, सडक व्यापारी, गाडीका चालक, यात्रु लगायत लाभान्वित भएका छन् । कलंकी चोकमा ड्यूटीमा खटिएका ट्राफिक हवल्दार डिल बहादुर कुँवर भन्नुहुन्छ ‘कतिपय ड्राइभरहरु मास्क नलाई हिड्छन्, हामीलाई देख्न साथ मास्क खोजे झैं गर्छन्, मैले धेरै ड्राइभरहरुलाई रोक्दै स्वयंसेवकहरुलाई मास्क वितरण गर्न पनि लगाएँ, दशैंको पूर्व सन्ध्यामा गरिएको यो कार्यक्रम एकदमै प्रभावकारी भएको छ ।’ उहाँले भन्नुभयो ।

स्याङ्जा घर भई कलंकी बस्दै आउनुभएका बाबुराम चलाउने पनि यो कार्यक्रम निक्कै प्रभावकारी भएको बताउनुहुन्छ । ‘दशैंमा घर फर्कनेहरुले कोरोना गाउँमा फैलाउँछन् भन्ने डर छ मलाई पनि, तर यस्ता कार्यक्रमले कम्तीमा मास्क लगाउनुपर्छ है भन्ने सन्देश त दिएको छ नि ?’ चलाउनेले भन्नुभयो ‘म त सधैं मास्क लगाउँछु नै, त्यही भएर होला मैले त धन्यबाद पनि पाएँ आज ।’

नेपाल मास्क : कोभिड १९ प्रतिकार्य परियोजना बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेशन (BMGF) को आर्थिक सहयोगमा येल विश्वविद्यालय, इनोभेटिभ पोबर्टी एक्सन (आईपीए), CCMC, Mayors Forum, नगरपालिका तथा गाउँपालिका महासंघ र काठमाडौ महानगरपालिकाको सहकार्यमा C-19 RAT  द्वारा कार्यान्वयन भईरहेको छ । वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) C-19 RAT  को कन्सोर्टियम सदस्य संस्था हो ।

नेपाल मास्क : कोभिड-१९ प्रतिकार्य परियोजनाले यस अघि कोरोना जोखिममा रहेका समुदायको पहिचान गरी घरघरमै पुगेर मास्कको वितरण गरेको थियो । परियोजनाले हाल बटुवा, बजार क्षेत्र र बसका यात्रुहरुलाई समेत लक्षित गरी मास्कको सही प्रयोग र यसको महत्वबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।


अभियान अन्तर्गत नै कोभिड-१९ प्रतिकार्य परियोजनाले समाजका प्रतिष्ठित व्यक्तिहरु मार्फत कोरोना रोकथामका लागि मास्कको महत्व र यसको प्रयोग गर्ने तरिका बारेको सन्देश समुदायमा पुर्‍याईदैछ ।

कलंकीमा सञ्चालन गरिएको कार्यक्रमको थप फोटाहरु :

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार