पर्वत : डम्पिङ साईटका लागि जग्गा अधिग्रहण गरेर मुआब्जा वितरण गर्दा समेत मानिसहरु जग्गा दिन तयार हुँदैनन् । डम्पिङ साईट भन्ने वित्तिकै फोहोर विसर्जन गर्ने ठाउँ हो र यसले वरपरको वातावरण बसिनसक्नु हुन्छ भन्ने आम धारणा छ । त्यसैले हत्तपत्त डम्पिङ साईटका लागि जग्गा प्राप्ति गर्न गाह्रो छ । तर पर्वतको पैयूँ गाउँपालिकाका बासिन्दाले भने बजार क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्न डम्पिङ साइट निर्माणका लागि निःशुल्क जग्गा नै उपलब्ध गराएका छन् । गाउँपालिकाको वडा नं. ५ का स्थानीयबासिन्दाले निःशुल्क जग्गा प्रदान गरेका हुुन् । सोही जग्गामा डम्पिङसाईटको पूर्वाधार निर्माण गरिने भएको हो ।
गाउँपालिका भित्रको फोहरमैला व्यवस्थापनका लागि करिब १० करोड लागतमा व्यवस्थापन परियोजना निर्माण गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिनुभयो । वडा नं. ५ को भूर्तेलथोकस्थित खोलाखर्कमा १९ रोपनी जग्गा गाउँपालिकाले प्राप्त गरिसकेको र फोहरमैला व्यवस्थापनको बोलपत्र प्रकिया सकेर काम चाँडै सुरु गर्ने पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताउनुभयो । फोहरमैला परियोजना गाउँपालिकाको गौरवको योजना रहेको र फोहोरलाई मोहोरमा बदल्ने गरी काम अघि बढेको उहाँले बताउनुभयो । गाउँपालिका अन्तर्गत हातेमालोचोक, हुवारबजार, भोर्लेबजार, त्रिवेणी, सरौँ लगायतका क्षेत्रमा बजारीकरण बढ्दै गएको छ ।
यो परियोजना सञ्चालनमा आएपछि कुहिने र नकुहिने फोहर वर्गीकरण गरी यसलाई व्यवस्थापन गरिने भएको छ । यो परियोजना लागू भएपछि स्थानीयवासीलाई रोजगारी समेत हुने अध्यक्ष ठकुरीले बताउनुभयो। फोहोरमैला व्यवस्थापनबारे गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम समेत गरिसकेको छ ।