साखः ग्रुपले सुरु गर्‍यो जापानी प्रविधिबाट कम्पोस्ट मल उत्पादन

जैविक फोहोर व्यवस्थापनमा समेत सहयोग पुग्ने

  वास खबर सम्वाददाता  582 पटक हेरिएको

काठमाडौ : साखः ग्रुपले जापानी प्रविधिमा आधारित रिकिसी कम्पोस्ट मल उत्पादन सुरु गरेको छ । उदयपुरको दुधौली नगरपालिकामा प्लान्ट स्थापना गरी मल उत्पादन सुरु गरेको साखः ग्रुपका प्रमुख किरणप्रकाश साखःले बताउनुभयो । १४ करोड रुपियाँको लगानीमा सुरु भएको सो प्लान्टबाट प्रत्येक दुई महिनामा छ हजारदेखि आठ हजार मेट्रिक टन मल उत्पादन हुन्छ । उत्पादन सुरु भएदेखि यता पाँच सय मेट्रिक टन बिक्री भइसकेको उहाँले जानकारी दिनुभयो।

रिकिसी कम्पोस्ट मल नेपालमा यस अघि नै सफल परिक्षण भईसकेको प्रविधि हो । जापानी प्रविधिमा आधारित रिकीसी कम्पोष्ट मल भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले उत्पादन गरिरहेको छ । मध्यपुर थिमीले नगरक्षेत्रका घरधुरीबाट फोहोर संकलन गरी मल उत्पादन गर्दै आएको छ ।

साखःअन्तर्गतको रिकिसी दाइची कम्पोस्ट फर्टिलाइजर एन्ड एग्रो प्रा.लि. ले सो मल पालिकामा रहेको कृषि ज्ञान केन्द्र मार्फत बिक्री–वितरण गरिरहेको छ । किसानले सिधै कम्पनीबाट खरिद गरे भने महँगो पर्न सक्छ । कृषि ज्ञान केन्द्र मार्फत खरिद गर्‍यो भने सस्तो पर्ने प्रमुख किरण प्रकाश साखःले बताउनुभयो ।

पालिकाहरूले किसानलाई मलमा अनुदान दिएका हुन्छन् । त्यही भएर त्यहाँबाट मल खरिद गर्दा किसानलाई सस्तो पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग खरिद गर्दा पनि हुन्छ तर हामीसँग खरिद गर्दा पाँच–१० रुपियाँ महँगो पर्न सक्छ ।” अहिले ज्ञान केन्द्र मार्फत बिक्री भइरहेको छ, पछि किसानले विशेष माग गर्न थाले भने स्थानीय पसल तथा अन्य बिक्री केन्द्रहरूबाट पनि बिक्री गर्ने उहाँले बताउनुभयो ।

किसानको माग अत्यधिक हुन थाल्यो भने सम्बन्धित पालिकामा समेत प्लान्ट लगाएर यो कम्पोस्ट मल उत्पादन गर्ने योजना आफ्नो कम्पनीको रहेको बताउँदै उहाँले हालसम्म किसानको राम्रै रोजाइमा रहेको छ, अझै माग बढ्दै गयो भने विभिन्न ठाउँमा प्लान्ट लगाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

जापानी सीएनबीएन प्रविधिबाट उत्पादित कम्पोस्ट मल दुर्गन्ध रहित हुने कम्पनीले दाबी गरेको छ । यो मललाई जापानको क्याटो युनिभर्सिटीले प्रमाणित गरेको छ । जापानिज प्राविधिको प्रत्यक्ष रेखदेखमा पाँच वर्षदेखि नेपालमा यसको अध्ययन अनुसन्धान पछि मात्र बजारमा ल्याएको उहाँले दाबी गर्नुभयो ।

यो मलको प्रयोगले रासायनिक मलबाट प्राप्त हुने उत्पादन दिने कम्पनीले दाबी गरेको छ । रिकिसी कम्पोस्ट मल उत्पादनको कामले जैविक फोहोरमैला व्यवस्थापनमा समेत प्रत्यक्ष सहयोग पुग्नेछ । कम्पोस्ट मल एक प्राकृतिक र जैविक मल हो । जुन पातहरू, घाँसका काँपहरू, घरायसी फोहोर, रातो माटो, भुस, धुटो जस्ता जैविक सामग्रीबाट बनाइन्छ ।

कम्पोस्ट मल रासायनिक मलभन्दा धेरै सस्तो रहेको दाबी गर्दै सरकारले दिने अनुदानको ठूलो धनराशि पनि बचत हुनेछ । सरकारबाट बर्सेनी रासायनिक मलमा उपलब्ध गराउने अनुदानको केही अंश मात्र आफूहरूलाई उपलब्ध गराउने हो भने किसानलाई यो मल सित्तैमा दिने कम्पनीका प्रमुख किरणप्रकाश साखःले बताउनुभयो । यो खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार