काठमाडौ : सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न संखुवासभाका फूर्वा शेर्पाको निधन भएको छ । सगरमाथाको आरोहण सकेर वेश क्याम्पतर्फ फर्कँदै गर्दा शेर्पाको ज्यान गएको हो । उहाँको पार्थिव शरिरलाई उद्धार गर्ने प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ ।
अभियानमा संलग्न सह सेनानी दिपेन्द्रसिंह खत्री सँगै तीन जनाको काठमाडौंमा उपचार भइरहेको छ । उपचारको लागि काठमाडौं ल्याइएका सबैको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ ।
सेनाले सगरमाथा र ल्होत्से हिमालमा सफाइ गरी सङ्कलित नौ सय ५० किलो नकुहिने फोहोर सगरमाथा प्रदुषण नियन्त्रण समिति ( एसपीसीसी) लाई हस्तान्तरण गरेको छ । नकुहिने फोहोर हेलिकप्टर मार्फत काठमाडौ ल्याइने र कुहिने फोहोर भने नाम्चेमा नष्ट गरिने एसपीसीसीका अध्यक्ष लामा काजी शेर्पाले बताउनुभयो ।
प्रमुख सेनानी किशोर अधिकारी नेतृत्वको १३ जना नेपाली सेना र अन्य समूहले गएको चैत २० गतेदेखि सगरमाथा र ल्होत्से हिमाल सफाइ गरिरहेका छन् । ुसफा हिमाल अभियान जेठ १५ गतेसम्म चल्ने सेनाका सेनानी खिमबहादुर डाँगीले जानकारी दिनुभयो । प्रतिकूल मौसम भए पनि प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा हिमाल सफाइ अभियानको बाँकी कार्य जारी रहेको सेनाले जनाएको छ ।