यी हुन् सरकारको नीति तथा कार्यक्रममा समेटिएका खानेपानी र सरसफाइ क्षेत्रको बिषय

  वास खबर सम्वाददाता  1296 पटक हेरिएको

काठमाडौ : सरकारको नीति तथा कार्यक्रममा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रलाई पनि सम्बोधन गरिएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम मा फोहरमैलाको दिगो व्यवस्थापनका लागि नीतिगत र संस्थागत प्रबन्ध गरिने, मेलम्ची खानेपानी आयोजनालाई बाह्रै महिना सञ्चालन गरिने, शहरी तथा राजमार्ग वरिपरि कम्तीमा एक हजार सुविधा सम्पन्न सार्वजनिक शौचलाय निर्माण गरिने, सरसफाइ स्वच्छता कार्यक्रमलाई राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिने लगायत उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रमको बुँदा नं. ८४, ८६, ८७ र ८८ मा खानेपानी, सरसफाइ र स्वच्छता सँग सम्बन्धित बिषयले स्थान पाएका छन् जो निम्न छन् :

बुँदा नं. ८४) काठमाडौ उपत्यका लगायत मुलुकका विभिन्न भू‐भागका ठुला शहरको फोहरमैलाको दिगो र निर्वाध व्यवस्थापनका लागि नीतिगत र संस्थागत प्रबन्ध गरिनेछ । स्थानीय तहहरूलाई फोहोरमैला व्यवस्थापन र बहुउपयोगका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइनेछ ।

बुँदा नं. ८६) भूमिगत र सतह स्रोतहरुको संरक्षण गर्दै एक घर एक धारा कार्यक्रमको निरन्तरता सहित जलवायु अनुकूलन खानेपानी प्रणालीको विकास गरिनेछ । खानेपानीका प्राकृतिक मुहानहरुको संरक्षण तथा प्रबर्द्वन गरिनेछ । मेलम्ची खानेपानी आयोजनालाई दिगो र बाह्रै महिना सञ्चालन गरी दोस्रो चरणको निर्माण कार्य अघि बढाइनेछ ।

निजी क्षेत्रबाट उत्पादन र वितरण भईरहेको खानेपानीको गुणस्तर सुनिश्चित गर्न प्रभावकारी अनुगमन गरिनेछ । मधेश प्रदेश लगायत तराईका विभिन्न जिल्लामा गुणस्तरीय खानेपानीका लागि आर्सेनिक न्यूनीकरणका कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।

बुँदा ८७. शहरी तथा राजमार्ग वरिपरि यात्री, पर्यटक, सेवाग्राहीको अत्यधिक चाप हुने सार्वजनिक स्थानमा निजी तथा सामुदायिक साझेदारीमा कम्तीमा एक हजार सुविधासम्पन्न सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण गरिनेछ । राजमार्गहरुमा सार्वजनिक निजी साझेदारीमा स्मार्ट रोडसाईड स्टेशन निर्माण गर्न सुरु गरिनेछ ।

बुँदा नं. ८८) तीन तहका सरकारको समन्वयमा सरसफाइ स्वच्छता कार्यक्रमलाई राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिनेछ । नदीनाला तथा पानीको स्रोतलाई प्रदूषणमुक्त राख्न फोहोरपानी प्रशोधन प्रणालीको विकास र विस्तार गरिनेछ ।

हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्ण पाठ :

नीति-तथा-कार्यक्रम-२०८०-फाइनल (1)

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार