चाँगुनारायणको वडा नं. १ र २ ले स्रोतमै फोहोरको वर्गीकरण गर्ने

जथाभावी फोहोर फाल्नेको सिसि टिभीद्वारा निगरानी गरिने

  वास खबर सम्वाददाता  1092 पटक हेरिएको

फोटो : राजन श्रेष्ठ

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं. १ र २ ले फोहोरको स्रोतमै वर्गीकरण गर्ने भएको छ । स्थानीय तहका जनप्रतिनिधिहरुको प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा वडा नं. १ र २ ले यस्तो घोषणा गरेका हुन् ।

फोहोरमैला वर्गीकरण कार्यक्रम सँगै आदर्श समाज उन्मुख अभियान, खस्याङखुसुङ खहरे मनोहरा खोला सफाइ अभियान, प्राज्ञ आदर्श समाज सफाइ अभियानको एकैसाथ शुभारम्भ गरिएको छ ।

कार्यक्रममा डस्टबिन हस्तान्तरण एवं सिसि क्यामराको समेत उदघाटन गरिएको थियो ।

कार्यक्रममा फोहोरमैला सफाई गर्दै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले सिंगो नगरपालिकाको टिम चाँगुनारायण नगरपालिकालाई स्वच्छ, सफा र हराभरा तुल्याउने हेतुले क्रियाशील रहेको जानकारी गराउँदै यस कार्यक्रममा युवा, विद्यार्थी, सामाजिक अभियन्ता, स्थानीयबासिन्दा सबैलाई सहभागी हुन आग्रह गर्नुभयो ।

उहाँले चाँगुनारायणलाई देशकै सफा र स्वच्छ नगरपालिका बनाउने अभियानको सांकेतिक कार्यक्रम स्वरुप खस्याङखुसुङ खहरे मनोहरा खोला सफाइ अभियानको शुभारम्भ गरिएको र आगामी अभियानलाई अझ सशक्त बनाउँदै लगिने बताउनुभयो ।

फोटो : राजन श्रेष्ठ

उहाँले नगरबासीलाई जथाभावी फोहोर नगर्न आग्रह गर्दै जथाभावी फोहोर फालेमा सिसि टिभीद्वारा निगरानी गरिने र ठाउँका ठाउँ समातेर नगद जरिवाना गरिने चेतावनी दिनुभयो ।

खानेपानी मन्त्रालयका सचिव ई.मणिराम गेलालको प्रमुख आतिथ्य एवं वडा नं. १ का वडाध्यक्ष सिजन कार्की र र वडा नं. २ का अध्यक्ष सोम प्रसाद प्रधानको सभापतित्वमा सञ्चालित कार्यक्रममा फोहोरमैला व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्था नेप्सेम्याक प्रा.लि., सहयात्री वचत तथा ऋण सहकारी संस्था, सुरक्षा निकाय, विभिन्न विद्यालयका बालबालिकाहरु लगायत सयौंको उपस्थिति थियो ।

चाँगुनारायण नगरपालिकाले ‘सफा सुग्घर घरआँगन, सफा स्वच्छ बाटो, पूर्ण सरसफाइ उन्मुख बन्दैछ चाँगुनारायणको माटो’ भन्ने मूल नाराका साथ पूर्ण सरसफाइ सम्बन्धीका कार्यक्रमहरुलाई बढावा दिईरहेको छ । खानेपानी, सरसफाइ र स्वच्छताको छुट्टै शाखा स्थापना गरेको चाँगुनारायण नगरपालिकाले ९ वटै वडामा वास सहजकर्ताहरु मार्फत पूर्ण सरसफाइ सम्बन्धी अभियान सञ्चालन गरिरहेको छ ।

अभियान अन्तर्गत टोल तथा वार्ड वास सीसीहरुको पुनर्गठन एवं पूर्ण सरसफाइ र व्यवहार परिवर्तन सम्बन्धी बालबालिकाहरुलाई अभिमुखीकरण गर्दै आएको छ ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार