बारा र रौतहटका १३ वटा विद्यालय ३ तारामा स्तरोन्नति, ९ वटा विद्यालयले पाए २ तारा

वास इन स्कुल अन्तर्गत निर्माण भएका संरचना विद्यालयलाई हन्तान्तरण

  वास खबर सम्वाददाता  1487 पटक हेरिएको

रौतहट : मधेस प्रदेशको बारा र रौतहट जिल्लाका १३ वटा सामुदायिक विद्यालय ३ तारामा स्तरोन्नति भएका छन् भने ९ वटा विद्यालयले २ तारा पाएका छन् । विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम सञ्चालनको दौरानमा विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता अवस्था तथा अन्य सूचकहरुको समेत सुधार भएपछि १३ वटा विद्यालयले तीन तारा र ९ वटा विद्यालयले दुई तारा पाएका हुन् ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा छायाँ नेपाल र पिपुल्स प्रमोट सेन्टर (पिपीसी) द्वारा संयुक्त रुपमा सञ्चालित ‘विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम’ अन्तर्गत निर्मित वास संरचना हस्तान्तरण कार्यक्रममा ती विद्यालयलाई तीन तारा र दुई तारा अंकित ट्रफी वितरण गरियो ।

छायाँ नेपाल र पिपुल्स प्रमोट सेन्टरले बारा र रौतहटको ४ वटा नगरपालिकाका २२ वटा सामुदायिक विद्यालयमा ‘विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रम’ मार्फत खानेपानी र सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।  शुक्रबार विद्यालयमा निर्मित वासका संरचना सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रमबाट ५ हजार ९ सय ३० जना महिला र ५ हजार २ सय १० पुरुष तथा २८ जना अपाङ्गता भएका व्यक्ति सहित ११ हजार १ सय ९० जना लाभान्वित भएको वास इन स्कुल कार्यक्रमका वास इन्जिनियर आशिष सिंहले जानकारी दिनुभयो ।

२२ वटै विद्यालयमा गरी २ करोड ४५ लाख ७५ हजार ८ सय रुपैयाँ लगानी भएको छ । ती मध्ये १ करोड ९ हजार ६५ लाख रुपैयाँ क्षमता विकास, तालिम, गोष्ठीमा खर्च भएको छ भने १ करोड ३६ लाख १० हजार ८ सय रुपैयाँ पूर्वाधार विकासको काममा लगानी भएको छायाँ नेपालका टिम लिडर राम महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार खर्च भएको कुल रकम मध्ये ८०.५७ प्रतिशत अर्थात १ करोढ ९८ लाख ६ सय रुपैयाँ युनिसेफ नेपालले अनुदान उपलब्ध गराएको छ भने ४४ लाख ६० हजार (१२.१४ प्रतिशत) पालिकाहरुले लागत साझेदारी गरेका छन् । २४ लाख ५२ हजार २ सय रुपैयाँ स्कुल तथा समुदायको योगदान रहेको टिम लिडर महर्जनले जानकारी दिनुभयो ।

 

यी हुन् तीन तारा प्राप्त विद्यालय

१.जनता आधारभूत स्कुल, पिप्रा बारागढी

२. नेपाल राष्ट्रिय मध्यामिक विद्यालय सिहसनी

३. श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय मलही

४. श्री जनता माध्यमिक विद्यालय बुधगाई

५. श्री नेपाल राष्ट्यि आधारभूत विद्यालय कन्चनपुर

६. नेपाल राष्ट्रिय आधारभूत स्कुल नितनपुर

७. नेपाल राष्ट्रिय आधारभूत स्कुल चकरी

८. श्री महेन्द्र माध्यमिक विद्यालय रैयाटोल

९. श्री माध्यमिक विद्यालय जुडिबेला

१०. श्री माध्यमिक विद्यालय, डुमरिया

११. श्री नेपाल राष्ट्यि आधारभूत विद्यालय खौराह, सल्यानपुर

१२. श्री माध्यमिक विद्यालय, चिकना

१३. श्री जगदम्बा आधारभूत स्कुल जेठरिया

तीन तारे मध्ये यी हुन् उत्कृष्ट पाँच विद्यालय

तीन तारे प्राप्त विद्यालय मध्ये पनि विभिन्न मापदण्डको आधारमा उत्कृष्ट पाँच विद्यालय चयन गरिएको छ । ‘विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता’ कार्यक्रम सञ्चालनको क्रममा विद्यालयको योगदान, मर्मत सम्भार कोषमा विद्यालयमा जम्मा गरेको रकम, बाल क्लवको सक्रियता, विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता संरचनाको नियमित सरसफाइ, किचन गार्डेनको मर्मत सम्भार, खानेपानी तथा सरसफाइ संरचनाको मर्मत सम्भार एवं नियमित पानीको उपलब्धता लगायतको आधारमा तीन तारे विद्यालय मध्ये उत्कृष्ट पाँच विद्यालय छनौट गरिएको हो ।

१. श्री माध्यमिक विद्यालय जुडिबेला

२. श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कन्चनपुर

३. जनता आधारभूत स्कुल, पिप्रा बारागढी

४. श्री महेन्द्र माध्यमिक विद्यालय रैयाटोल

५. श्री जगदम्बा आधारभूत स्कुल जेठरिया

 

उत्कृष्ट विद्यालयलाई नगद र ट्रफीद्वारा पुरस्कृत गरिएको छ । आगामी बर्ष पनि विद्यालयहरु बीच यसरी नै प्रतिस्पर्धा गरिने र वितरित पुरस्कार तीन बर्षसम्म निरन्तर प्राप्त गरेपछि मात्र आफ्नो विद्यालयको हुने युनिसेफ नेपालका खानेपानी तथा सरसफाइ अधिकृत बोधनारायण श्रेष्ठले बताउनुभयो ।

उहाँले ‘विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम’ बाट ८ वटा विद्यालयलाई तीन तारे विद्यालय बनाउने लक्ष्य भएपनि १३ वटा विद्यालयलाई तीन तारामा पुर्‍याउन सफल भएको बताउनुभयो ।

विद्यालयमा निर्मित वासका संरचनाहरु हस्तान्तरण कार्यक्रममा पिपिसी र छायाँ नेपालका कर्मचरीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार