
जनकपुर : खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको ‘संयुक्त क्षेत्रगत समीक्षा – Joint Sector Review (JSR) प्रादेशिक गोष्ठी’ सम्पन्न भएको छ । मधेस प्रदेशको उर्जा सिंचाई तथा खानेपानी मन्त्रालयको आयोजना तथा संयुक्त क्षेत्रगत समीक्षा अन्तर्गतको ‘सुरक्षित सरसफाइ तथा स्वच्छता’ कार्य समूहको समन्वयमा गोष्ठी सम्पन्न भएको हो ।
यस अघि संयुक्त क्षेत्रगत समीक्षा (JSR) निर्देशक समितिले सात वटा बिषयगत कार्य समूह गठन गरेको थियो । ती मध्ये हरेक एक समूहले प्रादेशिक गोष्ठीको नेतृत्व लिई सातै वटा बिषयगत समूहबारे समीक्षा गर्ने निर्णय भए बमोजिम मधेस प्रदेशमा ‘सुरक्षित सरसफाइ तथा स्वच्छता’ कार्य समूहको समन्वयमा गोष्ठी आयोजना गरिएको हो ।
केन्द्रमा संयुक्त क्षेत्रगत समीक्षा गोष्ठी आयोजना गर्नु अघि प्रादेशिक तहको खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको क्षमता, अवरोध र वर्तमान अवस्था पहिचान गरी भावी दिशा निर्देश गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल ईन्जिनियर प्रभात श्रेष्ठले बताउनुभयो । प्रादेशिक तहको समीक्षा गोष्ठी यस अघि लुम्बिनी प्रदेशमा सम्पन्न भईसकेको छ भने बाँकी पाँच वटा प्रदेशमा पनि गोष्ठी आयोजना गरिनेछ ।

प्रादेशिक गोष्ठी आयोजना गर्नु अघि ‘सुरक्षित सरसफाइ तथा स्वच्छता’ कार्य समूहले मधेस प्रदेशको विभिन्न पालिकामा अनुगमनको व्यवस्था, सेवा प्रदायकहरुको नियमन, क्षमता विकास, राजनैतिक प्रतिबद्धता लगायत बिषयको अवस्था पत्ता लगाउन पालिका प्रमुख तथा कर्मचारीहरुसँग छलफल तथा स्थलगत अध्ययन गरिएको थियो ।
सो क्रममा खडक नगरपालिकामा गरिएको स्थलगत अध्ययनबाट दिसाजन्य लेदो व्यवस्थापन विनियम मार्फत लेदो निश्चित ठाउँमा फाल्ने व्यवस्था गरेको पाईएको खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिज्नल इन्जिनियर अरुण कर्णले बताउनुभयो । यस्तै कटपुल्ला र हंसपुर नगरपालिकामा सरसफाइलाई नियम गर्न सूचना पाटीको व्यवस्था गरिएको पाईएको, खडक नगरपालिकामा सरसफाइकर्मीहरुलाई सुरक्षा सामग्री अनिवार्य गरेको भेटिएको बताउनुभयो ।

गोष्ठीको सभापति समेत रहेका उर्जा सिंचाई तथा खानेपानी मन्त्रालयका उप सचिव एवं महाशाखा प्रमुख ई.विश्वनाथ प्रसाद यादवले मधेस प्रदेशमा खानेपानीको पहुँचको स्थिति सन्तोषजनक रहे पनि सरसफाइमा नाजुक अवस्था रहेको बताउनुभयो । उहाँले भर्खरैको जनगणनाको नतिजाले समेत सरसफाइमा मधेस प्रदेश सातवटै प्रदेशमा सबैभन्दा पछाडि रहेको र यो अवस्थाबाट सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले मधेस प्रदेशकै मिथिला, लालबन्दी लगायत नगरपालिकाको सरसफाइको स्थिति राम्रै रहेको उल्लेख गर्दै ती नगरपालिकाहरुले के कत्ति कारणले सरसफाइमा प्रगति हासिल गर्न सम्भव भयो भन्ने कुराको खोजी गरी आफ्नो नगरपालिकामा समेत अबलम्बन गर्नुपर्ने बताउनुभयो ।
मधेस प्रदेशमा खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था, विकास साझेदार र निजी क्षेत्रको सहभागिता सञ्चालित गोष्ठीमा विभिन्न सात वटा बिषयगत कार्य समूहमा विभाजन भई केन्द्रले तयार गरेको विभिन्न प्रश्नावलीहरु भरिएको थियो । मधेस प्रदेशमा उपलब्धताको आधारमा हरेक समूहले रातो, पहेंलो र नीलो अर्थात एकदम राम्रो (नीलो), ठिकठिकै (पहेंलो) र एकदम नाजुक वा हुँदै नभएको स्थितिलाई (रातो) चिन्ह अंकित गरिएको थियो ।

खानेपानी तथा सरसफाइ सम्बन्धी प्रादेशिक क्षेत्रगत समीक्षा गोष्ठी चौथो चरणको कार्य हो । यस अघि पहिलो चरणमा JSR निर्देशक समिति, JSR व्यवस्थापन समिति गठन गरिएको थियो । यस्तै दोस्रो चरणमा सात वटा बिषयगत कार्य समूहहरु गठन गरी मुख्य मुख्य मुद्दाहरु पहिचान गरिएको थियो भने तेस्रो चरणमा वास सेक्टरको दक्षता/क्षमता सम्बन्धी प्रतिवेदन तयार गरिएको थियो ।
अब सातै प्रदेशमा प्रादेशिक गोष्ठीहरु सम्पन्न भएपछि पाँचौ चरणमा राष्ट्रिय स्तरमा खानेपानी तथा सरसफाइ संयुक्त क्षेत्रगत समीक्षा हुनेछ । त्यसपछि संयुक्त क्षेत्रगत समीक्षाको प्रतिवेदन प्रकाशन हुनेछ भने बिषयगत कार्य समूहलाई समेत निरन्तरता दिईने जनाएको छ ।
खानेपानी तथा सरसफाइ संयुक्त क्षेत्रगत समीक्षा यसअघि सन् २०११ र सन् २०१४ मा भएको थियो । राष्ट्रिय स्तरमा संयुक्त क्षेत्रगत समीक्षा (JSR) हुने भनिए पनि अहिलेसम्म मिति भने तय भईसकेको छैन ।

यी हुन् सात बिषयगत कार्य समूह
संयुक्त क्षेत्रगत समीक्षा निर्देशक समितिले खानेपानी तथा सरसफाइ क्षेत्रको सात वटा बिषयगत कार्य समूह गठन गरेको हो । हरेक एउटा समूहले प्रादेशिक समीक्षा गोष्ठीको अगुवाई गर्ने गरी गठन गरिएको बिषयगत कार्यसमूह निम्न छन् ।
१. कोशी प्रदेश : जलवायु परिवर्तन र विपद जोखिम न्यूनीकरण (वाश क्लस्टर) – Climate Change and DRR (WASH Cluster)
२. मधेश प्रदेश : सुरक्षित रूपमा व्यवस्थित सरसफाई सेवा र स्वच्छता – Safely Managed Sanitation Services
३. वाग्मती प्रदेश : सुरक्षित रूपमा व्यवस्थित खानेपानी सेवा – Safely Managed Water Supply Services
४ गण्डकी प्रदेश : खानेपानी, सरसफाइ तथा स्वच्छता सुशासन, संस्थागत व्यवस्था र क्षमता विकास –WASH Governance, Institutional Arrangement and Capacity Building
५. लुम्बिनी प्रदेश : क्षेत्रगत योजना, अनुगमन र मूल्याङ्कन ( परिणाम र प्रभाव मूल्याङ्कन) – Sector Planning, M & E – outcomes/impact evaluation
६. कर्णाली प्रदेश : खानेपानी र सरसफाइ क्षेत्रको वित्तिय स्थिति – Sector Financing
७. सुदुरपश्चिम प्रदेश : लैङ्गिक समता र सामाजिक समावेशीकरण – Gender Equity and Social Inclusion (GESI)



1397 पटक हेरिएको 

